arrow

प्रधानमन्त्री भए यता मोदीका एक सय १६ विदेश भ्रमण, कुटनीतिमा भारतको फड्को

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २८ बुधबार
modi-lal-killa-2019.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकाललाई कुटनीतिक मामिलामा विशेष ख्याति दिइएको छ । वर्तमान स्थितिमा युक्रेन युद्धमा भारतको तटस्थताले समेत यो विषयलाई  झनै स्वीकार्य बनाएको छ ।

यतिबेला मे १६ अर्थात् जेठ २ मा भारतीय प्रधानमन्त्री मोदीले नेपालको लुम्बिनी भ्रमण गर्ने विषयले पनि चर्चा पाएको छ । सन् २०१९ मा दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हो ।

पहिलो कार्यकालमा मोदीले चार पटक नेपालको भ्रमण गरेका थिए । सन् २०१४ मा भारतीय प्रधानमन्त्रीमा निर्वाचित भएपछि मोदीले अगस्त ३ र ४ मा नेपाल भ्रमण गरेका थिए । 

सन् २०१४ कै नोभेम्बरमा मोदीले दोस्रो पटक २५ देखि २७ तारिकसम्म १८ औं सार्क सम्मेलनमा भाग लिन तीन दिने नेपाल भ्रमण गरेका थिए ।

त्यसपछि सन् २०१८ को मे ११ र १२ मा मोदीले भारतीय प्रधानमन्त्रीका रुपमा तेस्रो पटक काठमाडौं र जनकपुरको भ्रमण गरेका थिए ।

सन् २०१८ कै अगस्त ३० र ३१ मा मोदीले चौंथो बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल भ्रमण गरेका थिए ।

सन् २०१४ मा मोदीले दुई पटक नेपाल र अन्य ७ देश गरी ९ विदेश भ्रमण गरेका थिए । सन् २०१५ मा दुई पटक रुस र अन्य २५ देश गरी २७ विदेश भ्रमण गरेका थिए ।

सन् २०१६ मा मोदीले २ पटक अमेरिका र अन्य १७ देश गरी १९ विदेश भ्रमण गरेका थिए । सन् २०१७ मा मोदीले १४ देशको भ्रमण गरेका थिए ।

सन् २०१८ मा २ पटक नेपाल र अन्य २१ देश गरी मोदीले २३ विदेश भ्रमण गरेका थिए भने, सन् २०१९ मा १५ देशको भ्रमण गरेका थिए ।

कोभिड१९ महामारीले उग्ररुप लिएको सन् २०२० मा भने मोदीले कुनै अन्तर्राष्ट्रिय भ्रमण गरेनन् । सन् २०२१ मा मोदीले दुई पटक अमेरिका र अन्य ३ देश गरी ५ विदेश भ्रमण गरे ।

सन् २०२२ को मार्चसम्म आइपुग्दा मोदीले जमर्नी, डेनमार्क र फ्रान्सको भ्रमण गरिसकेका छन् । यी सबै गर्दा मोदीले पहिलो कार्यकालदेखि आजसम्म ११६ विदेश भ्रमण गरेका छन् ।

मे १६ अर्थात् जेठ २ बुद्ध पूर्णिमाका अवसरमा मोदीले भगवान् गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी भ्रमण गर्दै छन् । उनी लामो समयदेखि बुद्ध जयन्तीमा नेपाल आउन चाहिरहेका थिए । 

मोदीको नेपाल भ्रमणलाई कसरी हेर्न सकिन्छ ? 

खास गरी मोदीको विदेश नीति दक्षिण एसियाका छिमेकी देशहरूसँगको सम्बन्धलाई सुधार गर्दै नयाँ उचाई दिनेमा केन्द्रित मानिन्छ ।  

यसभन्दा बढी दक्षिणपूर्व एसियाका छिमेकीसँग समन्वय बढाउने र प्रमुख विश्व शक्तिहरूसँग संलग्न रहने मोदीको विदेश नीति देखिन्छ ।

सोही अनुसार मोदीले सन् २०१४ मा आफ्नो कार्यकालको पहिलो १०० दिनभित्र नेपाल, भुटान, जापान, अमेरिका, म्यानमार, अष्ट्रेलिया र फिजीको औपचारिक भ्रमण गरेका थिए । 

मोदीले आफ्नो कार्यकालमा अहिलेसम्म ४ पटक चीनको भ्रमण गरिसकेका छन् । पाँच पटक रुस र सात पटक अमेरिकाको भ्रमण गरेका छन् ।

अहिले मोदीले नेपालको भ्रमण गर्नुअघि गत अप्रिलमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गरेका थिए । सो भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न क्षेत्रमा सम्झौता एवं केही सम्झौतामा हस्ताक्षर भएको थियो ।

अहिले मोदी भारतबाट सोझै लुम्बिनी आएर लुम्बिनीबाटै भारत फर्किने कार्यक्रम रहेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउन थालेसँगै अन्तर्राष्ट्रिय फ्लाइट पनि शुरु भएको छ । 

बुधबारमात्रै भारतीय वायुसेनाको जहाज लुम्बिनी अवतरण भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ