- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतका लागि नवनियुक्त नेपालका राजदूत डा शङ्करप्रसाद शर्माले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसमक्ष नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा बुधबारआयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
ओहोदाको प्रमाणपत्र प्रस्तुतीकरणपछि राष्ट्रपतिसँग भएको शिष्टाचार भेटमा राजदूत शर्माले भारतका राष्ट्रपतिको व्यक्तिगत स्वास्थ्य, सुख, शान्ति र भारतका मित्रवत् जनताको निरन्तर प्रगति एवं समृद्धिको कामना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाका साथै नेपाली जनताका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे ।
भारतका लागि नेपाली राजदूतमा नियुक्त भएकामा डा शर्मालाई स्वागत गर्दै भारतका राष्ट्रपतिले बधाई ज्ञापन गरे । राष्ट्रपति कोविन्दले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र नेपालका मित्रवत् जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्दै आफ्नातर्फबाट राष्ट्रपति भण्डारी, प्रधानमन्त्री देउवा र नेपाली जनतामा शुभकामना व्यक्त गर्न राजदूत शर्मालाई आग्रह गरे ।
राजदूत शर्माले नेपाल र भारतबीचको शताब्दीऔँ पुरानो बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू तत्पर रहेको बताए । दुई देशको सहयोगात्मक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफूले इमान्दार प्रयास गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
त्यस अवसरमा भारतको परराष्ट्र मन्त्रालय, राष्ट्रपति कार्यालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका उच्च अधिकारीहरूको उपस्थिति थियो ।