arrow

तनहुँमा २५ प्रतिशत मत खस्यो

logo
विनोद ढुङ्गाना,
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
tanahu-voter-2079.jpg

तनहुँ। सङ्घीयता कार्यान्वयनमा आएपछि शुक्रवार देशभर एकसाथ दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदै छ। बिहान ७ बजेदेखि सुरु भएको मतदानमा तनहुँमा २५ प्रतिशत मत खसेको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकालले जानकारी दिए। ‘अहिलेसम्म शान्तिपूर्ण र उत्साहजनक वातावरणमा मतदान भइरहेको छ’, उनले भने।

बिहानैदेखि मतदान केन्द्रमा मतदाताको बाक्लो उपस्थिति देखिन्छ।  ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्त र बिरामीलाई लाइन नबसीकन मतदान गर्ने व्यवस्था मिलाइएको छ। ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्त र बिरामी पनि मतदानमा उत्साहजनक रूपमा सहभागी भएर मतदान गरिरहेका छन् । लौरो, ह्विलचियर र आफन्तको सहयोग लिएर उनीहरू आफ्नो मताधिकार प्रयोग गर्दै छन्।

तनहुँको १० स्थानीय तहको ८५ वडामा १३६ मतदान स्थल र २९७ मतदान केन्द्र छन्। दुई लाख ४४ हजार ३४० मतदाताले ४४४ जना जनप्रतिनिधि छान्दै छन्।

मतदान सम्पन्न गराउनलाई २९७ मतदान अधिकृत, २९७ मतदान सहायक अधिकृत, ५९२ जना सहायक कर्मचारी, २९७ सहयोगी र ८९१ जना स्वयंसेवक खटिएका छन्।

यस्तै सुरक्षाका लागि नेपाल प्रहरी ६०५, म्यादी प्रहरी एक हजार ५५, ३२४ जना सशस्त्र प्रहरी र ४२५ जना नेपाली सेना खटिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ