arrow

सर्लाहीको धनकौल मतदान केन्द्रमा सेना परिचालन गरेर मतदान

logo
एसवी थापा,
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
nepali-army-local-election-2079.jpg

सर्लाही। जिल्लाको दक्षिणी क्षेत्रस्थित धनकौल गाउँपालिकाको एक मतदान केन्द्रमा नेपाली सेना परिचालन गरेर मतदान सुरु भएको छ। धन्कौल गाउँपालिका–२ स्थित पशु सेवा कार्यालय मतदान केन्द्रमा ६ घण्टापछि नेपाली सेना परिचालन गरेर मतदान सुरु गरिएको हो।

धनकौलमा बिहान मतदान सुरु भएसँगै काँग्रेस, एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच त्रिपक्षीय झडप सुरु भएको थियो। विवाद बढ्दै गएपछि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा मतदान केन्द्रबाट मतपेटिका र मतपत्रसहित कर्मचारीहरूलाई निर्वाचन अधिकृतको कार्यालय पुर्‍याइएको थियो।

लगत्तै केन्द्रको निर्देशनका मतदान स्थलको पहिलो घेरामा नेपाली सेना परिचालन गरेर मतदान सुरु गरेको धन्कौलका निर्वाचन अधिकृत शिवदत्त बरालले जानकारी दिए। त्रिपक्षीय कार्यकर्ता ढुंगामुढासहित झडपमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाई फाइर गर्नुका साथै दर्जनौँ सेल अश्रुलग्यास प्रहार गरेको थियो। झडपमा केही कार्यकर्ता समेत घाइते भएको पार्टीहरूको दाबी छ।

बिहान मतदान सुरु भए देखिनै झडप सुरु भएपछि मतदान ६ घण्टा स्थगित गरेको निर्वाचन अधिकृत बरालले जानकारी दिए। झडप सुरु भएपछि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी खटाए पनि स्थिति नियन्त्रणमा आउन सकेन। ठुलो सङ्ख्यामा उपस्थित भएका पार्टीका नेता कार्यकर्ता आपसमा ढुंगामुढामा उत्रिएपछि केही बेर मतदान स्थल रणभूमिमा परिणत भएको थियो। निर्वाचन अधिकृत बरालका अनुसार पालिकाको अन्य मतदान केन्द्रमा समेत पटक पटक झडप भएको छ।

‘अरू मतदान केन्द्रमा पनि झडपको स्थिति सृजना भइरहेको छ।’ उनले भने, ‘त्यहाँका प्रतिनिधिहरूलाई राखेर सहमति गराउँदै, मतदान सुचारु गराइरहेका छौँ।’ झडपमा उत्रिएका नेता कार्यकर्ताहरूले मतदान स्थलमा ढुंगामुढा, सिसा लगायतका सामान प्रहार गरेका थिए भने केन्द्र निर्माणमा प्रयोग गरेको बाँस र काठको भाटा लगायत सामग्रीमा आगजनी गरेको प्रहरीको भनाइ छ।

आफन्तको मत खसाल्ने, अशक्तको मत हाल्ने लगायत विषयमा सुरु भएको विवाद झडपको स्थितिमा पुगेको स्थानीयको भनाइ छ। झडप उग्र बन्दै गएपछि उनीहरू सुरक्षाकर्मी र मतदानमा खटिएका कर्मचारीहरूमाथि खनिएका थिए। यसैबीचै कौडेना गाउँपालिका–६ स्थित जनता आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा समेत झडपपछि मतदान केही बेर स्थगित भएको थियो।

पछि थप सुरक्षाको लागि पुगेको नेपाली सेनाको टोलीले स्थिति नियन्त्रणमा लिएर मतदान सुचारु गराएको हो। विभिन्न पार्टीका नेता तथा कार्यकर्ता झडपमा उत्रिएपछि मतदान केही बेर रोकिएको निर्वाचन अधिकृत विश्वनाथ अर्यालले जानकारी दिए। अहिले उक्त स्थानमा पनि शान्तिपूर्ण ढङ्गले मतदान भइरहेको छ।

यस्तै, जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अधिकृत दिवाकर भुजेलका अनुसार अहिलेसम्म जिल्लामा ५५ देखि ६० प्रतिशत मत खसिसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ