arrow

धमाधम मतपेटिका सङ्कलन हुँदै, सम्भव भए सम्मका स्थानमा आजै मतगणना

logo
रासस,
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
myagdi-ballot-box.jpg

काठमाडौँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचनमा मतदान सकिएका मुलुकका विभिन्न पालिकाका मतदान स्थलबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउने कार्य जारी छ।

ती क्षेत्रमा मतपेटिका सङ्कलनपछि सर्वदलीय बैठक बसेर मतगणना गर्ने तयारी छ। निर्वाचन आयोगले आजै मतगणना सुरु गर्न स्पष्ट निर्देशन दिइसकेकाले पनि प्रक्रिया पुगेका स्थानमा आजै मतगणना गरिने सम्बद्ध क्षेत्रका अधिकारीहरूले बताएका छन्।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पनि मतदान सम्पन्न भई सुरक्षित रूपमा मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी भएपछि सहरी क्षेत्रमा आजै रातिदेखि मतगणना कार्य सुरु हुने जानकारी दिए। आयोगका अनुसार करिब ६४ प्रतिशत मत खसेको अनुमान गरिएको छ। यो अपेक्षाभन्दा कम हो तर कतिपय क्षेत्रमा अहिले पनि मतदान जारी रहेको र कतिपय क्षेत्र दुर्गम भएकाले आजै मतगणना सुरु हुने सम्भावना क्षीण छ।

शान्तिपूर्ण रूपमा मतदान सकिएको काठमाडौँ उपत्यकाका विभिन्न पालिकाका मतदान स्थलबाट पनि धमाधम मतपेटिका सङ्कलन भइरहेको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले काठमाडौँमा सम्भव भएका ठाउँमा आजै मतगणना सुरु गरिने तयारी रहेको राससलाई जानकारी दिए। उनका अनुसार मतपेटिका सङ्कलन कार्य जारी छ।

निर्वाचन आयोगले आज भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ। विभिन्न जिल्लामा झडपका घटना भएका देखिएको थियो।

आयोगका अनुसार जुम्ला, सप्तरी, काभ्रे, रौतहट, रामेछाप, बारा, बाजुरा, पर्वतलगायत जिल्लाका केही मतदान स्थलमा विवादका कारण मतदान कार्य रोकिएको छ। त्यस्ता क्षेत्रमा निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा आयोगलाई जानकारी दिएर पुनः मतदान गराउने निर्णय मुख्य निर्वाचन अधिकृतले गर्न सक्नेछन्। सोही अनुसार कतिपय जिल्लामा मतदानको अर्को मितिसमेत तय भइरहेको छ।

आज मतदानको दिन केही छिटपुट घटना भए। मतदाताले मतपेटिका नै लिएर भागेका दृश्य देखियो भने दलका कार्यकर्ताबीच झडप पनि भयो। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले ३० भन्दा बढी जिल्लामा ११० घटना भएको जानकारी दिए।

कूल ११ जिल्लाका केही मतदान स्थलमा स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको र केही ठाउँमा अश्रुग्याँस नै प्रहार गर्नुपरेको थियो। प्रहरीलाई प्राप्त विवरणबारे जानकारी दिँदै केसीले ३४ स्थानमा मतदान स्थगित भएको बताए।

महानगरमध्ये सबैको चासोको विषय बनेको चितवनको भरतपुरमा राति १२ बजेपछि मतगणना सुरु गर्ने तयारी गरिएको सहायक प्रजिअ चिरञ्जीवी शर्माले राससलाई जानकारी दिए। उनले केही पालिकाले भोलि गर्ने कुरा गरेको पनि बताए।

“मतपेटिका आउने क्रम जारी छ, रुटमा परेका सबै मतदान स्थलबाट मतपेटिका सङ्कलन भइरहेकाले मतपेटिका सङ्कलनमा केही समय लाग्ने देखिएको छ”, शर्माले भने, “राप्ती नगरपालिकामा गाडी नै नजाने ठाउँहरू छन् र इच्छाकामना गाउँपालिकाका मतदान स्थल पनि दुर्गममा रहेकाले मतपेटिका ल्याउन समय लाग्ने देखिएको छ।”

पानी परेर बाटो बिग्रिएको भन्ने सूचना आएकाले गाउँको मतपेटिका आउन ढिला हुने उनले बताए। शर्माले चितवनमा ६८ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको बताए।

केही ठाउँमा मतदान जारी
यद्यपि केही क्षेत्रमा भने मतदान नै सकिएको छैन। कतिपय स्थानमा स्थगित भएको छ। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले अहिले पनि मतदान जारी रहेको बताए। दिउँसो आएको हावाहुरीका कारण मतदान प्रभावित भएकाले मतदान ढिला भएको हो।

“रोकिएका ३५ मतदान स्थलमा साँझ ५ बजेपछि पनि मतदान जारी राखिएको थियो, अहिले झरेर १० स्थानमा  मतदान भइरहेको छ, करिब करिब हामी ९ बजेसम्म मतदान सक्छौँ, त्यसपछि केही पालिकाबाट मतगणना पनि आजैदेखि सुरु गर्ने योजनामा छौँ”, पोखरेलले रासससँग भने।

मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले एउटा नगरपालिकामा वर्षाका कारण अहिले पनि मतदान जारी रहेको बताए। “अब केही समयमा मतदान सकिँदै छ, आजै मतगणना सुरु गर्ने भनेर मुख्य निर्वाचन अधिकृतसँग अनुरोध गरेका छौँ, आजै गणना सुरु गर्ने सम्भावना प्रबल छ”, दाहालले भने।

एकै पटक देशभरका कूल १० हजार ७५६ मतदान स्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा आज मतदान भएको हो। यस पटक ७५३ स्थानीय तहमा कूल ३५ हजार २२१ निर्वाचित हुनेछन्। स्थानीय तह सदस्य निर्वाचनमा कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए। 

यस पटकको निर्वाचनमा इतिहासमै पहिलो पटक बिहीबारसम्म १८ वर्ष उमेर पूरा भएका बालिग मतदाताले मतदानको अवसर पाएका थिए। यसपालि ६५ दल निर्वाचनमा सहभागी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ