arrow

लोकप्रिय मतका साथ रेसुङ्गामा कांग्रेसका पन्थी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
khildhoj-panthi.jpg

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसका नगर प्रमुख पदका उम्मेदवार खिलध्वज पन्थी सहितका कांग्रेसका उम्मेदवारले बहुमतका साथ भारी मतान्तरले रेसुङ्गा नगरपालिकामा विजयी हासिल गरेसँगै पुनः यस नगरपालिकामा चार तारे झण्डा हरिएको छ ।

०७४ सालको स्थानीय तह निर्वाचनमा झिनो मतान्तरले पराजय भोग्नु परेको यस नगरपालिकामा अहिले भने भारी मत सहित नेपाली काँग्रेसले आफ्नो विरासत कायम राखेको छ । गत निर्वाचनमा वडामा बहुमत ल्याए पनि प्रमुख र उपप्रमुखमा झिनो मतान्तरले पराजय भोगेको यस नगरपालिकामा पुनः कांग्रेसको गण स्थापित गरेको छ । काँग्रेसले यस पटक गत निर्वाचनमा पराजय भोग्नुपरेका वडाहरूमा समेत आफ्नो विजय फर्काएको छ ।

गत निर्वाचनको पराजय र युवापुस्ताको विचारलाई प्रतिबिम्वन गर्दै केही समय अघि सकिएको नेपाली कांग्रेस गुल्मीको आठौँ जिल्ला अधिवेशनबाट सभापतिमा लोकप्रिय मतका साथ विजयी भएका कांग्रेस सभापति खिलध्वज पन्थी रेसुङ्गा नगरपालिकामा विकासका सात रङ्ग लिएर नगर प्रमुख पदमा होमिए । एउटा हातमा पार्टीको सङ्गठन र अर्को हातमा विकासका योजना समातेर हिँड्ने सङ्कल्प गरेका सभापति पन्थीले अन्ततः रेसुङ्गा नगरपालिकामा विजयीको झण्डा फहराउन सफल भएका छन् ।

सभापति पन्थी आफू मात्र निर्वाचित हुनुभएन नगरपालिकामा रहेका वडाहरूमा कांग्रेस उम्मेदवारहरूलाई लोकप्रिय मतका साथ विजयी बनाए । बालक, युवा, प्रौढ, वृद्धका कैयन सपना र समृद्धिका लागि विकासका साथ सुचाङ्कहरुलाई इन्द्रेणीको सात रङ्ग जस्तै सङ्कल्प पत्रमा सङ्कल्प गरेर चुनावमा होमिनुभएका पन्थीका सङ्कल्पहरूलाई जनताले विश्वास गरे । 

सुन्दर, शान्त, समृद्ध र समुन्नत नगरपालिका भित्र एउटा सुखी र खुसी परिवारको परिकल्पना पुरा गर्न शिक्षा तथा खेलकुद, स्वास्थ्य, पर्यटन, कृषि, उद्योग वाणिज्य तथा रोजगार, सहरी विकास खानेपानी सराई तथा विपद् व्यवस्थापन र सडक भौतिक पूर्वाधार तथा सामाजिक विकास उनले गरेका सङ्कल्प हुन् ।

सामान्य परिवारमा जन्मनुभएका पन्थी नगर प्रमुख पदमा निर्वाचित भएसँगै धेरैका आशाको किरणको रूपमा उदाएका छन् । रेसुङ्गा नगरपालिका-५, भुवन पानीमा जन्मिएका पन्थी अहिले ४६ वर्षको युवा हुन् । ०४६ सालदेखि निरन्तर नेपाली कांग्रेसको राजनीति गर्दै आउनुभएको उन झन्डै ९ वर्षसम्म नेपाल तरुण दलको जिल्ला अध्यक्ष भए । युवापुस्ताका बीच आफूलाई बढी भिजाउन सफल पन्थी विपन्न, गरिब र दलित समुदायको सहाराका रूपमा चिनिन्छन् ।

बितेको पाँच वर्षमा पालिकाहरूमा विकासले जुन गति लिनुपर्ने थियो त्यसरी विकास हुन् नसकिरहेको नजिकबाट नियाल्नुभएका पन्थी विकासात्मक र प्रशासनिक कार्यलाई चुस्त बनाउने कुरामा दृढ छन् । विगतमा नेपाली कांग्रेसमा भोट हाली पराजय भोग्नु परेका कारण पालिकाबाट प्राप्त हुने सेवा सुविधामा विभेद भोगेका जनताका गुनासाहरूलाई सम्झिँदै समान रूपमा व्यवहार गर्ने आफ्नो सङ्कल्प रहेको उन बताउछन् ।

यसो त विकासका संरचना निर्माणका लागि सत्ता बाहिर हुँदा पनि सरकारका उच्च तहमा पहुँच पुर्‍याउन सक्ने खुबी भएका पन्थी निर्वाचित भएसँगै अधुरा विकासका योजना पुरा हुने कुरामा रेसुङ्गबासी विश्वस्त छन् । रेसुङ्गा नगरपालिकामा मात्र हैन जिल्लाका सबै भू-भागमा पुगेका पन्थी सुन्दर रेसुङ्गा नगरपालिका निर्माण गर्ने आफ्नो सपनालाई साकार बनाउन रेसुङ्गाबासीले अमूल्य मतदान गरेको भन्दै आभार व्यक्त गरेको छ ।

पन्थीले ८ हजार ६१४ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार इन्जिनियर राजेन्द्रप्रसाद पाण्डेले ७ हजार ३२० मत ल्याएका हुन् । उप-प्रमुखमा पनि नेपाली कांग्रेसकै अमृतादेवी कुँवरले ८ हजार ६१९ मत ल्याएर विजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) कै उम्मेदवार रीता बराल पाण्डेले ७ हजार २३१ मत ल्याउनुभएको हो । कुँवर ०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि यस नगरपालिकाको उप-प्रमुख पदको उम्मेदवार थिए । 

यससँगै नेपाली काँग्रेसले यस नगरपालिकाका १० वडामा हासिल गरेको छ । त्यस्तै नेकपा (एमाले) ले ४ वडामा विजयी हासिल गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ