arrow

धनुषामा खसेको भन्दा बढी मतपत्र भेटिएपछि विवादले उग्र रूप लियो, सेना परिचालन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
dhanusa-bibad.JPG

जनकपुरधाम। धनुषाका  धनौजी र नगराइनमा मतगणना स्थगित गरिएको छ  । धनौजी गाउँपालिका र नगराइन नगरपालिकामा खसेको मतभन्दा बढी मतपत्र पाइएपछि दुवै  पालिकामा मतगणना स्थगित गरिएका हुन् । धनौजी गाउँपालिका वैशाख ३० गते मतदानको दिन मत खसेपछि मतदान अधिकृतले फिल्डबाट पठाएको रिपोर्टभन्दा १५ मत बढी फेला परेपछि विवाद उत्पन्न भएको छ।
 
धनौजी स्थित मतगणना स्थल बाहिर विवादले उग्र रूप लिएपछि प्रहरीले भने अवस्थालाई नियन्त्रणमा लिनका लागि हवाई फायर समेत गरेको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि २५ राउन्ड हवाई फायर र एक राउन्ड अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।

धनजीको मतगणना स्थललाई सामान्य बनाउनका लागि अहिले त्यहाँ नेपाली सेना परिचालन गरिएको छ । निर्वाचन अधिकृत पोषराज खनालका अनुसार मतपेटिकामा भनिएको भन्दा १५ वटा मत बढी फेला परेको भन्दै उम्मेदवार तथा प्रतिनिधिहरूले हो हल्ला गरेका थिए ।

उनले भने, ‘मतपेटिकामा मत खसेको भन्दा बढी बढी मत फेला परेको छ । निर्वाचन सम्बन्धी ऐनले मतपेटिकामा रहेको मतलाई नै अन्तिम मत मान्ने अवस्था रहे पनि यसलाई बेवास्ता गरेपछि विवाद हुँदा मतगणना स्थगित गरेका छन् ।
 
धनौजी गाउँपालिका वडा नम्बर  २ मा १ हजार ६ सय ९४ मत हुनुपर्नेमा त्यसभन्दा बढी मत मतपेटिकामा फेला परेको हो । सो पालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार साह १ हजार ५ सय १४ मत सहित पहिलो स्थानमा रहेका छन् भने उनका निकटतम प्रतिस्पर्धी लोसाका देवेन्द्र झा १ हजार मत सहित दोस्रो स्थानमा रहेका  छन् ।

सो पालिकामा लोसपा, एमाले सहितका दलहरु आन्दोलित भएको छ । स्थानीयका अनुसार मतगणना स्थलबाहिर समेत मतपत्र फालिएको अवस्थामा फेला परेका छन् ।

त्यस्तै , नगराइन नगरपालिकामा लोसपा, एमाले लगायतका दलले पुनः मतगणनाको माग गरेपछि मतगणना स्थगित भएको हो। मतपेटिकामा रहेको अन्य दलको हकमा आएको सदर मतलाई पनि बदर गरिएको, कांग्रेसको बदर मतलाई समेत सदर गरिएको आरोप लगाउँदै पुनः मतगणनाको माग गरिएको छ ।

लोसपाको नगरप्रमुखका उम्मेदवार राजेश चौधरी सहित ११ जना प्रतिनिधिले मतगणना स्थगित गर्नुपर्ने माग गरेपछि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत सुदिपकुमार दंगालले जानकारी दिए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ