arrow

मोदीको लुम्बिनी भ्रमणको सन्देश : नेपाल-भारतबीचको सम्बन्ध सुधार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३ मंगलबार
deuba-modi-nepal-india-lumbini-2079-2022.jpg

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक दिवसीय लुम्बिनीको भ्रमण सकाएर फर्किएका छन्। सोमबार बिहान साढे १० बजे लुम्बिनी पुगेका मोदीले मायादेवी मन्दिर र उक्त क्षेत्रको भ्रमण सकेका छन् । मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले हेलिप्याडमै पुगेर स्वागत गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गरेको डेढ महिनामै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रिटर्न भिजिट भएको हो । लुम्बिनी भ्रमणमा आउनुअघि प्रधानमन्त्री मोदीले आइतबार एक वक्तव्य जारी गर्दै आफू प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न इच्छुक रहेकोसमेत बताएका थिए ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले भारतसँगको सम्बन्ध बिगारेको भन्दै चर्को आलोचना भएको थियो । परिणामस्वरूप ओली सरकारका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई प्रधानमन्त्री मोदीले भेट गर्न समय पनि दिएका थिएनन् । २०७८ असार २९ मा देउवा प्रधानमन्त्री बनेपछि पनि बधाई दिन सङ्कोच मानिरहेको भारतले पछिल्लो समय खुलेरै भेट गर्न इच्छुक रहेको बताएको हो ।

भारतीय प्रधानमन्त्री मोदीले यसअघिका भ्रमणहरूलाई हिन्दूहरूको आस्थाका केन्द्रहरू पशुपतिनाथ, जनकपुरधामको रामजानकी र मुस्ताङमा रहेको मुक्तिनाथमा केन्द्रित गरेका थिए । यस पटकको भ्रमण भने प्रधानमन्त्री मोदीले विश्वभरका बौद्ध धर्माबलम्बीहरुको आस्थाको केन्द्र लुम्बिनीमा केन्द्रित गरेका छन् ।

आइतबारको वक्तव्यमा प्रधानमन्त्री मोदीले भनेका छन्, ‘दुई देशबीच शताब्दीऔंदेखि झाङ्गिँदै आएको सम्बन्धलाई मेरो यो भ्रमणले थप गहिरो बनाउने अपेक्षा लिएको छु । गत महिना प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा भएको उपलब्धिमूलक छलफलपछि म फेरि उहाँलाई भेट्न इच्छुक छु।’

यसअघि प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले नेपाल–भारतबीच विशेष सम्बन्ध रहेको र विश्वमा यस्तो सम्बन्ध अन्त कुनै पनि मुलुकबीच नभएको दाबी गरेका थिए । उनले भनेका थिए, ‘अनादिकालदेखि हामी एकअर्काका सुख दुःखका साथी हौँ । दुई देशका जनताबीचको सम्बन्ध एउटा अनुपम उदाहरणका रूपमा रहेको छ। यस्तो सम्बन्ध विश्वका अन्य कुनै पनि देशमा देखिएको छैन ।

भारतीय विदेश सचिव विनयमोहन क्‍वात्राले पनि नेपालका प्रधानमन्त्रीको भारत भ्रमण लगत्तै भारतबाट हुन लागेको ‘रिटर्न भिजिट’ ले दुई मुलुकबीचको निकटतालाई झल्काएको बताएका छन् । 

‘नेपाल र भारतबीच धेरै क्षेत्रमा बहुआयामिक सम्बन्ध छ,’ उनले भनेका छन्, ‘नेपालका प्रधानमन्त्रीको निमन्त्रणामा हुन लागेको रिटर्न भिजिटले दुई मुलुकबीचको सुधारिँदै गएको सम्बन्धलाई झल्काएको छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ