arrow

जनकपुरमा कांग्रेसका विद्रोही साह अग्रस्थानमा, गठबन्धनको परिणाम निराशाजनक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
manoj-kumar-shah.PNG

जनकपुर । मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसका विद्रोही उम्मेदवार मनोजकुमार साहले आफ्नो अग्रतालाई निकै फराकिलो बनाउँदै लगेका छन् । त्यहाँ पाँच दलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका साझा उम्मेदवार पाँचौँ स्थानमा छन् ।

कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधीका प्रिय पात्र साहले गठबन्धनबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा खडा भएका थिए । साहले अहिलेसम्म ३९ सय ५६ मत पाएका छन् ।

गठबन्धनका तर्फबाट नगरप्रमुखका साझा उम्मेदवार जनता समाजवादी पार्टीका लालकिशोर साहको मत परिणाम निराशाजनक देखिएको हो । नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार साहले तीन हजार ९५६ मतका साथ अग्रता बनाउँदा निवर्तमान नगरप्रमुखसमेत रहेका गठबन्धनका उम्मेदवार लालकिशोर ४२९ मत ल्याएर पाँचौँ स्थानमा छन् । 

उनीभन्दा अगाडि एमालेका शिवशङ्कर साह दुई हजार ८६ मतका साथ दोस्रो, स्वतन्त्र उम्मेदवार बलराम महतो एक हजार ११३ मतका साथ तेस्रो र लोसपाका मनोज चौधरीले ७३१ मत प्राप्त गरी चौथो स्थान रहेका छन् । 

गठबन्धनका तर्फबाट प्रमुखका उम्मेदवारको मतपरिणाम निराशाजनक देखिए पनि गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार बनेका कांग्रेसका किशोरी साहले भन्ने सुरुदेखि नै अग्रता कायम राखेका छन्। उनले तीन हजार ४४२ मत प्राप्त गरी अग्रता कायम राखेकी छन् भने एमालेका रुना झाले एक हजार ७३७ मतका साथ उनलाई पछ्याइरहेका छन् ।

कूल २५ वटा वडा रहेको जनकपुरधाम उपमहानगरपालिकाको हालसम्म सम्पन्न सात वटा वडाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । 

उनका अनुसार वडा नं १ को वडाध्यक्षमा कांग्रेसका दीपनारायण यादव (देवु), वडा नं २ मा कांग्रेसकै शिवकुमार साह, वडा नं ३ मा तमलोपाका दीपेन्द्रकुमार साह, वडा नं ४ मा कांग्रेसका सुरेश झा, वडा नं ५ मा एमालेका बेचन साह हलुवाइ, वडा नं ६ मा कांग्रेसका दिनेश्वर साह र वडा नं २५ को वडाध्यक्षमा कांग्रेसकै चन्देश्वर साह विजयी भएका छन् । 

अन्य वडाको मतगणना कार्य भइरहेको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ