arrow

चौधरी फाउन्डेसनले कान्ति बाल अस्पतालमा बनायो ‘सारिकादेवी चौधरी आकस्मिक वार्ड’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
chaudhary.jpg

काठमाडौं । चौधरी फाउन्डेसनले काठमाडौंस्थित कान्ति बाल अस्पतालमा सारिकादेवी चौधरी आकस्मिक वार्ड स्थापना गरेको छ। बुधबार उद्यमी, राजनीतिज्ञ, समाजसेवी एवं फाउन्डेसनका अध्यक्ष विनोद चौधरी, उनकी पत्नी सारिकादेवी चौधरी एवं राज्यमन्त्री उमेश श्रेष्ठले उक्त आकस्मिक वार्डको उद्घाटन गरेका हुन् ।

करिब ६० वर्षअघि स्थापना भएको नेपालको एउटा मात्रै प्रमुख बाल अस्पतालमा चौधरी फाउन्डेसनले २५ बेडसहितको आकस्मिक वार्ड स्तरोन्नति गर्न वित्तीय एवं प्राविधिक सहयोग गरेको हो ।

हाल ३०२ बेड क्षमता रहेको कान्ति बाल अस्पतालमा आकस्मिक कक्षमा यसअघि १४ वटा बेड मात्रै रहेका थिए । चौधरी फाउन्डेसनको सहयोगमा अस्पतालको आकस्मिक वार्डलाई २५ बेडमा स्तरोन्नति गरिएको हो । स्तरोन्नति गरिएको आकस्मिक कक्षको नाम सारिकादेवी चौधरी आकस्मिक वार्ड राखिएको हो ।

बुधबार आयोजित उद्घाटन कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या सचिव रोशन पोखरेल, चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरी, चौधरी फाउन्डेसनकी महासचिव सारिकादेवी चौधरी र चौधरी फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले स्वास्थ्य र शिक्षाका क्षेत्रमा धेरै गर्न बाँकी रहेको बताउँदै चौधरी फाउन्डेसनले गरेको यो कार्य निकै राम्रो भएको बताए । मन्त्री श्रेष्ठले भने, ‘निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा दिने दायित्व सरकारको भए पनि स्रोत साधनको सीमितता हुँदा निजी क्षेत्रसँग सहकार्य गर्नुपर्छ।’

मन्त्री श्रेष्ठले चौधरी फाउन्डेसनले जस्तै अन्य व्यवसायीले पनि सामाजिक उत्तरदायित्वमा ध्यान दिन आवश्यक रहेको बताउँदै चौधरी फाउन्डेसनले गरेको यो काम अन्यका लागि उदाहरण बन्ने बताएका छन् ।

यस्तै उनले देशभर नै बाल अस्पताल बनाउन आवश्यक रहेको बताउँदै त्यसो हुँदा केन्द्रमा मात्रै बढी चाप हुने समस्या हट्ने समेत बताएका छन् ।

स्वास्थ्य सचिव पोखरेलले आकस्मिक कक्ष स्तरोन्नतिपछि व्यवस्थापनको जिम्मेवारी अस्पतालको भएको बताएका छन् । यस्तै उनले अझै यस्ता काम गर्दै जानु पर्ने र यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक सबै सहयोग र सहकार्य गर्ने बताएका छन् । 

चौधरी फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले फाउन्डेसनले भविष्यका लागि, सबैका लागि र खास गरी नयाँ पुस्ताका लागि हुने गरी विभिन्न क्षेत्रमा र स्वास्थ्य क्षेत्रलाई थप प्राथमिकतामा राख्दै काम गर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘युवाको क्षमता विस्तारको लागि फाउन्डेसनले सहयोग गर्दै आएको थियो, कान्ति बाल अस्पताल त्यसकै निरन्तरता हो ।’


 
चौधरी फाउन्डेसनकी महासचिव सारिकादेवी चौधरीले यो कार्यले सम्पूर्ण आमा र बुवाहरुलाई खुसी बनाएको विश्वास गरेकी छन् । उनले आफ्नो छोरा सानो हुँदा सोही अस्पतालमा उपचार गर्न आएको कुरा समेत स्मरण गर्दै बच्चाको उपचारका लागि आमालाई हुने चिन्ता आफुले बुझेको बताइन् ।

उनले भनेकी छन्, ‘मेरो छोरा निर्वाण ५ वर्षको हुँदा कान्तिमा उपचारको लागि आएको थिएँ, छिटो उपचार नपाउँदा आमाहरु धेरै छटपटिनुपर्छ। फाउन्डेसनमार्फत आमाहरूको चिन्तालाई सहयोग गर्न पाउँदा मलाई गर्वानुभूति भएको छ।’

२०२१ डिसेम्बरमा अस्पताल र चौधरी फाउन्डेसनका बीचमा आकस्मिक कक्ष स्तरोन्नतिको सम्झौता भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ