arrow

सुदूरपश्चिमका ३ जिल्लामा काँग्रेस, एमाले र माओवादी शून्य

logo
मोहन जोशी,
प्रकाशित २०७९ जेठ ४ बुधबार
sudurpachhim-pradesh.jpg
फाइल तस्बिर

धनगढी। स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएका मध्ये सुदूरपश्चिमका तीन जिल्लामा प्रमुख ३ दल शून्यमा झरेका छन्। नेपाली काँग्रेस दार्चुलामा, नेकपा एमाले डडेलधुरा र नेकपा माओवादी केन्द्र बाजुरामा शून्य भएका हुन्। ९ पालिका रहेको दार्चुलामा नेकपा एमालले ५ र नेकपा माओवादी केन्द्रले ४ पालिका प्रमुख जितेको छ । दार्चुलामा नेपाली काँग्रेसले ३ उपप्रमुख पद जितेको छ।

दार्चुलामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस बीच चुनावी तालमेल भएको थियो । नेपाली काँग्रेसले २०७४ मा जितेको दार्चुला सदरमुकाम रहेको महाकाली नगरपालिकामा यस पटक नेकपा एमालेले जीत हासिल गरेको छ । दार्चुलामा महाकाली नगरपालिका सहित दुहुँ गाउँपालिका, ब्यास गाउँपालिका, मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा नेकपा एमालले जीत हासिल गरेको छ । यसै गरी नेकपा माओवादी केन्द्रले दार्चुलाको लेकम गाउँपालिका, मार्मा गाउँपालिका, नौगाढ गाउँपालिका र अपिहिमाल गाउँपालिकामा जीत हात पारेको छ । दार्चुला नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुको गृह जिल्ला हो । 

यसै गरी नेकपा एमाले डडेलधुरामा शून्य भएको छ । २०७४ को निर्वाचनमा डडेलधुरा सदरमुकाम समेत रहेको अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकामा नेकपा एमाले विजयी भएको थियो । तर यस पटक भने डडेलधुरामा एमालले केही वडामा मात्रै चित्त बुझाउनु परेको छ । डडेलधुराका ७ पालिका मध्य ५ मा नेपाली काँग्रेस र २ पालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । डडेलधुरा जिल्ला प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला हो । 

जहाँ सदरमुकाम रहेको अमरगढी नगरपालिका सहित गन्यापधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका, पर्शुराम नगरपालिका र  भागेश्वर गाउँपालिकामा काँग्रेस विजयी भएको छ । डडेल्धुराको अजयमेरु गाउँपालिका र आलिताल गाउँपालिकामा भने नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । 

सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा नेकपा माओवादी केन्द्र शून्यमा झरेको छ । ९ पालिका रहेको बाजुरामा अहिले सम्म ७ पालिकाको अन्तिम मत परिणाम आएको छ । ती मध्य ४ मा नेकपा एमाले र ३ पालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । ७ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक हुँदा माओवादी केन्द्रले उप प्रमुख समेत जित्न सकेको छैन ।

बाजुरामा अन्तिम मत परिणाम आएका मध्य ४ पालिकामा एमाले विजयी भएको छ । गौमुल गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, जगन्नाथ गाउँपालिका र बडिमालिका नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । 

त्यसै गरी बाजुराका ३ पालिकामा नेपाली काँग्रेसले नेतृत्व हात पारेको छ । काँग्रेसले हिमाली गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका र त्रिवेणि नगरपालिकामा जीत हात पारेको छ । 

बाजुराका बाँकी २ पालिका मध्य अहिले बुढीनन्दा नगरपालिकामा मतगणना जारी रहेको छ । सो पालिकामा एमाले र काँग्रेस बीचनै प्रतिस्पर्धा छ । त्यसै गरी बुढिगंगा नगरपालिकामा विवादका कारण मतदान नै हुन सकेको छैन । बुढिगंगा नगरपालिकामा पनि नेकपा आमोवादी केन्द्र कमजोर अवस्थामा छ । सो पालिकामा २०७४ को निर्वाचनमा नेपाली काँग्रेस विजयी भएको थियो ।

एमालेबाट विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीले भने दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बाजुरा र अछाममा खाता खोल्न सकेको छैन । कैलाली, कञ्चनपुर र बझाङका केही पालिकामा भने मत गणना जारी छ । नेकपा एसले बझाङ र कैलाली एक/एक पालिकामा अग्रता लगेको छ । न्युज कारखाना



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ