arrow

जीवनराम श्रेष्ठले भने धरहरा उद्घाटन भयो,  सञ्चालनमा आएन’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
jeevanram-shrestha-samsad-as.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले काम नै नसकिएको धरहराको उद्घाटन गरिए पनि हालसम्म सञ्चालनमा आउन नसकेकोमा टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तका बारेमा आफ्नो धारणा राख्दै उनले काम नै नसकिएका आयोजना सम्पन्न भयो भनेर शुभारम्भ गर्ने प्रवृत्तिका कारण हालसम्म पनि समस्या खडा भएको बताए । 

“आफ्नो बेलामा उधुम नै गर्यौँ भनेर केही माननीयज्यूहरूले धारणा राखेको देखियो । तर, वास्तविकता त्यस्तो छैन, धरहराको छेउँमा चियापसल गर्नेले उद्घाटनपछि के पायो भनेर हेर्नुपर्छ कि पर्दैन ?” उनले भने । 


जनता समाजवादी पार्टीका  सांसद प्रमोद साहले कृषि क्षेत्रमा गएको अनुदान वास्तविक किसानले पाउन नसकेकामा गुनासो गरे । उनले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिइएको बताइए पनि खास अर्थमा ती आयोजनाले प्राथमिकता पाउन नसकेको र आवश्यकतानुसार बजेट विनियोजन हुन नसकेको बताए । 

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने अर्थतन्त्र निर्माण गर्ने गरी बजेटको प्रबन्ध गर्न र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा भाग लिन पाउने व्यवस्था गर्न माग गरिन् । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहयोग परियोजना एमसीसी ठीक नभएको तर्क गरे । 


नेकपा एमालेकी सांसद विद्या भट्टराईले चालु आवको १० महिनामा रु १५ खर्बको आयात हुँदा निर्यात त्यसअनुरुप हुन नसकेको तथ्य पेश गर्दै निर्भरतामुखी अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनुपर्ने बताइन् । 

उनले उद्यमशीलताका क्षेत्रहरूलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने, स्वास्थ्यमा लगानी गरी नागरिकको मौलिक हकको कार्यान्वयन गर्नुपर्ने धारणा राखिन् ।  लोकतान्त्रिक समाजवादी पार्टीका सांसद एकवाल मियाँले चुरेको संरक्षण गर्न तथा समानुपातिक बजेटको प्रबन्ध गर्न तथा विकास निर्माणको कामलाई प्रभावकारी बनाउने गरी नीतिगत व्यवस्था गर्नुपर्ने बताए । 

नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले जलाशयुक्त आयोजनाको विकास गर्न नसकिएकाले आवश्यक परेको बेलामा ऊर्जाको सङ्कट पर्ने भएकाले यसमा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ