arrow

काभ्रेको बेथानचोकमा अधिकारी करिब दोब्बर मतले विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
congress-kavre.JPG

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार भगवान् अधिकारी अत्यधिक मतसहित अध्यक्षमा विजयी भएका छन्। खसेको १० हजार ७ सय ३४ मतमध्ये अधिकारीले ६ हजार ०१९ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी एमालेका कमलप्रसाद तिमल्सिनाले ३१ सय ६० मत ल्याए। 

उपाध्यक्षमा माओवादी केन्द्रबाट गठबन्धनको उम्मेदवार रहेकी तारा राना तिमल्सिना ४४९८ मतसहित विजयी भइन्। एमालेकी सरला केसीले ३५७३ मत ल्याइन्। 

यो गाउँपालिका काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ अन्तर्गत पर्छ, जहाँबाट २०७४ सालको निर्वाचनमा गोकुल बाँस्कोटा निर्वाचित भएका थिए। तर, यस गाउँपालिकामा ३२ सदस्यमध्ये एमालेले एउटा मात्रै सदस्य पद जित्यो। वडा ३ मा एमालेले एउटा सदस्य जिते पनि वडाध्यक्ष र तीन सदस्य कांग्रेसले जित्यो। १,२, ४ र ६ मा कांग्रेसको प्यानलै विजयी भयो। 

त्यसै गरी वडा ५ मा स्वतन्त्र उम्मेदवार राजकुमार वाइवा वडाध्यक्षमा विजयी भए। यस वडामा कांग्रेसका दुई तथा स्वतन्त्रबाट दुई जना सदस्य निर्वाचित भए। 

को हुन् अधिकारी?
पत्रकारितामा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका अधिकारी लामो समयदेखि राजनीतिमा सक्रिय छन्। उनी काभ्रेमा कांग्रेसका आशालाग्दा नेता मानिन्छन्। केही समय प्राध्यापन पेशामा बिताएका अधिकारीले अहिलेसम्म कुनै पनि लाभको पद लिएका छैनन्।

उनी विद्यार्थी आन्दोलनका चर्चित अनुहार हुन्। नेविसंघको पूर्वकेन्द्रीय सदस्य तथा नेविसंघ काभ्रेको पूर्व जिल्ला सभापतिका रूपमा कार्यकाल सम्हालिसकेका अधिकारीलाई २०७४ सालको प्रदेशसभा निर्वाचनमा कांग्रेसले समानुपातिक सांसदको बन्द सूचिमा राखेको थियो। त्यसबाट राजीनामा दिएर उनी यस पटक गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेका हुन्। अधिकारी कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेता हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ