arrow

पर्वतका ६१ वडाध्यक्षमा महिलाको सङ्ख्या शून्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
Parbati-hamrakura.jpg.jpeg

पर्वत । पर्वत जिल्लाको सात स्थानीय तहका ६१ वटा वडाध्यक्षका पदमध्ये  कुनैमा पनि महिला निर्वाचित हुनसकेका छैनन् । सबै  वडाध्यक्षमा पुरुष नै निर्वाचित भएका हुन् । विहादी गाउँपालिका-१ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी विष्णु खड्का र कुश्मा नगरपालिका-११ पकुवामा गठबन्धनबाटै माओवादी केन्द्रकी लीला दबाडी उम्मेदवार बनेका थिए । जिल्लाभर दुई जनामात्रै वडाध्यक्षको उम्मेदवार बने पनि पराजित भएका थिए । 

विहादी १ मा नेकपा (एमाले)का चित्रबहादुर गुरुङसँग खड्का पराजित भएका हुन्  भने कुश्मा-११ मा पनि एमालेकै बाबुराम पौडेलसँग दबाडी पराजित भएका हुन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा कुश्मा-४ र ५ मा नेपाली कांग्रेसको तर्फबाट क्रमशः मीना कर्माचार्य र चित्रकला शर्मा भारती निर्वाचित भएका थिए ।
 
यस पटक भने वडाध्यक्षमा महिलाको सहभागिता शून्य रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । महिला उम्मेदवारको सङ्ख्या नै कम रहेको र महिला उठेका पनि विजयी हुन नसकेकाले ६१ वडाका अध्यक्षमा महिलाको प्रतिनिधित्व हुननसकेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले बताइन् ।  जिल्लामा एउटा पालिकाले भने महिला नै प्रमुख पाएको छ । मोदी गाउँपालिकामा एमालेको तर्फबाट उम्मेदवार बनेकी हीरादेवी शर्मा अध्यक्षमा निर्वाचित भएकी हुन् । उक्त गाउँपालिकामा एमालेकै उम्मेदवार बिमल लामिछाने पनि उपाध्यक्षमा निर्वाचित भएकी छन् । गठबन्धनका कारण प्रमुख र उपप्रमुखमा जलजला गाउँपालिकाले महिलालाई पाउन सकेन । 

जलजलाको अध्यक्ष र उपाध्यक्षमा दुवै पुरुष निर्वाचित हुनुभएको छ । कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका राजु आचार्य र माओवादीबाट उपाध्यक्षको उम्मेदवार बन्नुभएका दीपक आचार्य विजयी भएपछि उपाध्यक्षमा महिलाको स्थान गुमेको हो । जिल्लाका बाँकी पाँच स्थानीय तहमा भने उपप्रमुख-उपाध्यक्ष महिलानै विजयी भएकी छन् । फलेवास नगरपालिकामा माओवादी केन्द्रबाट शोभा क्षेत्री, विहादीमा एमालेकी मीना तिवारी, पैँयू गाउँपालिकामा एमालेकै यामकुमारी राना र महाशिला गाउँपालिकामा पनि एमालेबाटै उम्मेदवार बनेकी धनशोभा विक विजयी भएकी हुन् । जिल्लाका दुई नगरपालिका र तीन गाउँपालिकमा महिला उपप्रमुख वा उपाध्यक्ष छन्, भने बाँकी दुई पालिकामा पुरुष उपाध्यक्षमा निर्वाचित भएकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ