arrow

मौनतामा ओलीः दश दिन जहाँ भाषण गरे अधिकांश पालिकामा हार्‍यो एमाले  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
kp-sharma-oli5.jpg
तस्बिर– फाइल

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैशाख २७ पछि कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । बैशाख २७ गते चार वटा सार्वजनिक कार्यक्रममा भाग लिएर चुपचाप बसेका ओलीले भक्तपुरको बालकोट मतदान केन्द्रबाट स्थानीय तहको निर्वाचनमा बैशाख ३० गते मतदान गरेका थिए । त्यसपछि उनी चुपचाप छन् । 

जेठ ३ गते मदन आश्रित स्मृति दिवसमा मदननगर बल्खुमा जानुपर्ने भए पनि त्यस दिन उनी हल्का बिरामी परेका कारण जान सकेका थिएनन् । त्यसपछि आइतबार (जेठ ८ गते) मात्रै सार्वजनिक कार्यक्रममा देखिए । 

स्थानीय चुनावअघि देशव्यापी अभियान सञ्चालन गरेका ओली चुनावपछि भने चुपचाप बसेका बेला आइतबार सार्वजनिक कार्यक्रममा देखिएका हुन् । तर उनले आइतबार कुनै पनि राजनीतिक टिप्पणी गरेनन् । चुनावी अभियानको क्रममा अध्यक्ष ओलीले लामो भाषण गर्दै विपक्षी दल तथा तिनका नेताहरुमाथि चर्को आलोचना गर्ने गरेका भए पनि ओलीले आइतबार ती सबै कुरालाई बिर्से झँै गरे । 

आफ्नो पालामा भ्युटावर खडा गरेको प्रसङ्गलाई गज्जब गरेको देखाउन उनले फ्रान्सको इफेल टावरको सम्झना गर्न भने भुलेनन् । अनि म्युटावर नबनाउने नेपाली कांग्रेसको घोषणापत्रको आलोचना गर्न भ्याए । 

बैशाख १८ देखि २७ गतेसम्म करिब ३० वटा कार्यक्रममा भाषण गरेका ओली त्यसपछि भने परिणाम सार्वजनिक भैसक्ने अवस्थामा पनि चुपचाप छन् । उनले १० दिनको बीचमा जति ठाउँ भाषण गरे प्रायः सबै ठाउँमा एमालेले हार व्यहोर्नु परेको छ । 

त्यसकारण पनि ओली चुपाचाप बसेको अनुमान गरिएको छ । केही दिनअघि स्थानीय तहको निर्वाचनको परिणामको विषयमा एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै धाँधलीको आरोप लगाएका थिए । 

तर महासचिव पोखरेलको विज्ञप्ति सार्वजनिक भएपछि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लगायतका नेताहरुले हतारमा विज्ञप्ति जारी गरेको भन्दै आलोचना गरेका थिए । 

त्यो विषयमा पनि ओली मौन रहेका छन् । निर्वाचनको परिणाम सकिन लाग्दा  आइतबार राजधानीमा आयोजित कविता लोकार्पण कार्यक्रममा उपस्थित भएका ओलीले चुनाव मात्रै नभएर राजनीतिक विषयमा थप कुनै पनि प्रकारको अभिव्यक्ति दिएनन् । 

मीना श्रेष्ठको कवितासंग्रह ‘फर्गेट एस्टडे’ को लोकार्पण कार्यक्रमा आफूलाई रुघा लागेर सन्चो नभएको भन्दै सम्बोधन शुरु गरेका अध्यक्ष ओलीले ४३ मिनेट बोलेका भए पनि राजनीतिमा प्रवेश नै गरेनन् । 

त्यतिबेला बालुवाटारमा सत्ता गठबन्धनको बैठक पनि बसिरहेको थियो । ओलीले त्यसतर्फ कुनै ध्यान दिएनन् । सो कार्यक्रममा उनले कविता, नाटकको उत्पत्तिदेखि दूरदर्शनमा प्रसारित हुने ’महाभारत’ टेलिसिरियल प्रारम्भ हुँदाको संवाददेखि जेनेटिक मेमोरीसम्मको विषयमा चर्चा गरे । 

अरु बेला त्यही विषयलाई ओलीले राजनीतिमा लगेर जोड्ने गरेका थिए । कार्यक्रममा ओलीले शब्दवाण धातुवाणले घोचेको भन्दा पनि कडा हुने भन्दै भने, ‘धातुको वाणले प्रहार गर्दा उपचारले निको हुन्छ । शब्दवाणले गरेको प्रहार निको नै हुन्न भन्ने कुरालाई पनि ध्यान दिन आग्रह गरे । उनले सबै नेपाली कवि भएको बताए । 

‘सबै नेपालीको नामपछि कवि लेखिदिए हुन्छ । लिपी जन्मिनुभन्दा पहिले पनि छन्दमा कविता वाचन गर्दथे,’ ओलीले भने, ‘नेपालमा जस्तो दोहोरी खेल्दा भन्न सक्ने को छ ? नेपालीसँग १० मिनेटमा विश्वका जुनसुकै कवि पनि टिक्न सक्दैन ।’ 

तर ओलीले राजनीतिक टिप्पणी नगरी आफ्नो समय बिताएर बाहिरिएका थिए । अघिल्लो निर्वाचनको बेला करिब तीन सय स्थानीय तहमा जित हासिल गरेको एमाले अहिले २०० स्थानीय तहमा समेटिएको छ । 

झण्डै ९५ सीट हारेको अवस्थामा ओलीले शालिनपूर्वक अभिव्यक्ति दिएर बाहिरिएका थिए । ओलीले शक्ति चंचय गरेका हुन् वा बोल्ने शब्द नभएर बोलिरहेका छैनन् भन्ने आशंका स्वयं उनकै दलका नेताहरुले गर्न थालेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ