- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी विजयी भएका छन् । उनी १३ हजार ४६५ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार शिवशंकर साहले ९ हजार ५३२ मतमात्र ल्याए । साह ३ हजार। ९३३ मतान्तरले विजयी भएका हुन् ।
लामो समय नेपाली कांग्रेसको राजनीति गरेका साहले यसपटक सत्ताधारी दलहरुको गठबन्धन बन्दा आफूले कांग्रेसबाट गठबन्धन उम्मेदवार बन्न नपाउने भएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । विशेष गरी कांग्रेस नेता विमलेन्द्र निधी निकटका उनले निधीकै सुझावमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
गठबन्धनबाट टिकट नपाएपछि कांग्रेसको साधारण सदस्यबाटसमेत राजीनामा गरेर उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
जितपछि उनले आफूलाई कांग्रेसले नै जिताएको बताएका छन् । पार्टीले उम्मेदवार उठाउँदा गल्ती गरे पनि मतदाताले आफूलाई न्याय दिएको उनको प्रतिक्रिया रहेको छ ।
गठबन्धनबाट जनकपुरधामको प्रमुख पदमा जसपाका लालकिशोर साहलाई टिकट दिइएको थियो । उनी पछि रहे ।
उपमेयरमा कांग्रेस उम्मेदवार किशोरी साह १५ हजार ५२५ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार रुणादेवी झाले १०,८८५ मत ल्याएकी छन् ।