arrow

जनकपुरधाम जितेपछि विद्रोही मेयरले गरे यस्तो निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
manajo-saha-janakpur.PNG

जनकपुर । नेपाली कांग्रेसबाट बिद्रोही उम्मेदवार बनेर जनकपुरधाम उपमहानगरपालिकाको मेयर बनेका मनोज साहले आफ्नो पहिलो निर्णय गरेका छन् । नवनिर्वाचित नगरप्रमुखको पहिलो निर्णय जनकपुरधाम उपमहानगरपालिकाको फोहोर व्यवस्थापन अब वडा कार्यालयमार्फत हुने भएको छ। मङ्गलवार साहले पदभार ग्रहणपछि जनकपुरको फोहोर व्यवस्थापन वडा कार्यालयमार्फत गराउने निर्णय गरेका छन् । 

यसअघि उपमहानगरपालिका कार्यालय आफैँले फोहोर व्यवस्थापन गर्ने गरेको थियो। वडा कार्यालयलाई थप जबाफदेही बनाउँदै फोहोर व्यवस्थापनका लागि जिम्मेवारी विकेन्द्रीकरण गर्ने निर्णय मेयर साहले गरेका छन्। फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकाका सबै वडा कार्यालयलाई ट्र्याक्टर र सफाइ कर्मचारी उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्याये जानकारी दिएका हुन् ।

जनकपुरधाममा फोहोर व्यवस्थापन प्रमुख चुनौती रहेको छ। बजार क्षेत्रमा सरसफाइ हुने गरे पनि टोल टोलमा सम्भव हुन सकेको थिएन,’ उपाध्यायले भने,‘उपमहानगरपालिकाका साथै फोहोर व्यवस्थापनको जिम्मा वडा कार्यालयलाई दिने निर्णय मेयरज्यूले गरेका छन् ।

यस्तै, उपमहानगरपालिकाको कामलाई प्रभावकारी बनाउन सम्बन्धित शाखाको काम सम्बन्धित कर्मचारीबाट गराउने निर्णय मेयर साहले गरेका छन् । यसअघि एउटा शाखामा आबद्ध कर्मचारीले अर्को शाखाको काम गर्दै आइरहेका थिए। जुन फाँटका लागि नियुक्ति भएको हो त्यो कर्मचारीले सोही फाँटको काम गर्ने निर्णय भएको उपाध्यायले बताए।

उपमहानगर कार्यालयभित्र सेवाग्राहीलाई सहज ढङ्गबाट सेवा उपलब्ध गराउँदै सुशासन कायम गर्न पारदर्शिता अपनाउने निर्णय भएको छ। धनुषाका नव निर्वाचित मेयर र अध्यक्षले शपथ ग्रहण गरेका छन् ।

मङ्गलवार उपमहानगरको अष्टावक्र सभा हलमा आयोजित पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ वटा गाउँपालिकाका नव निर्वाचित मेयर र अध्यक्षले शपथ ग्रहण गरेका थिए ।निर्वाचित जनप्रतिनिधिलाई धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले शपथ ग्रहण गराएका हुन् ।

सोमबार साँझ जनकपुरधाम उपमहानगरपालिकाको मत परिणाम आएसँगै जिल्लाको सबै स्थानीय तहको मतगणना सम्पन्न भएको थियो । अब मेयर र अध्यक्षले पालिकाका उपमेयर, उपाध्यक्ष सहित वडाध्यक्ष र सदस्यहरूलाई शपथ खुवाउने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ