arrow

नीति तथा कार्यक्रम : गण्डकीमा के-के परे योजना ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
Gandaki Map.jpg
फाइल तस्वीर

पोखरा । सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगललबार संघीय संसद्को संयुक्त बैठकमा पेस गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गण्डकी प्रदेशभित्र सञ्चालन गरिने योजनासमेत समेटिएका छन् ।

सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले प्रदेशकै गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालनमा ल्याइने उल्लेख गरिन् । नीति तथा कार्यक्रममा हवाई सेवालाई विस्तार गर्दै सुरक्षित र गुणस्तरीय बनाउनेमा जोड दिइएको छ । 

सरकारले वायुसेवा कम्पनीहरुलाई काठमाडौं बाहिरबाट समेत उडान गर्न प्रोत्साहित गर्ने भएको छ । गण्डकीको हिमाली जिल्ला मनाङका हिमतालको पानीको सतह घटाइने भएको छ । हिमताल विस्फोटको जोखिम न्यून गर्न मनाङसँगै सोलुखुम्बु र संखुवासभामा त्यस किसिमको कार्यक्रम सञ्चालन गरिने उल्लख छ । हिमताल र नदीका तल्लो तटीय क्षेत्रमा विपद् पूर्वसूचना प्रणाली सञ्चालन गरिने भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना सरकारले आफ्नै लगानीमा बनाउने घोषणा गरेको छ ।

एक हजार २०० मेगावाट क्षमताको उक्त आयोजना सरकार आफैँले बनाउने निर्णय यसअघि नै गरे पनि नीति तथा कार्यक्रममै समेटेर आयोजना अघि बढाइने भएको हो । उक्त आयोजना लामो समयदेखि बन्न सकिरहेको थिएन । 

यस्तै, प्रदेश सीमांकनका क्रममा नयाँ थपिएको जिल्ला नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा आवश्यक सरकारी कार्यालय भवनहरु निर्माण गरिने भएको छ । गण्डकी प्रदेशका कैयन जिल्लालाई छिचोल्ने राष्ट्रिय गौरवका सडक आयोजना कालीगण्डकी करिडोर र पुष्पलाल मध्यपहाडी राजमार्गको निर्माण एवं स्तरोन्नतिलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । 

यस प्रदेशमा पर्ने गण्डकीलगायतका नदीको बहृत् जलाधार क्षेत्रको संरक्षण र व्यवस्थापन योजनालाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । बहुपयोगी संरक्षण पोखरी एवं ताल निर्माण र व्यवस्थापन, पानीका मुहान संरक्षण, आकस्मिक पहिलो तथा भूस्खलन नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ ।

गण्डकीलगायतका नदी प्रणालीहरुमा आन्तरिक जल यातायातको सम्भाव्यता पहिचान तथा विकास गरिने उल्लेख छ । वैदिक, पौराणिक ग्रन्थमा उल्लेख भएका धार्मिक, सांस्कृतिक क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धन गरिने भएको छ । प्रदेशस्तरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला, दुई मेडिकल कलेजलगायत ठूला पूर्वाधार विकासका योजना सञ्चालन गरिने नीति तथा कार्यक्रममा समावेश छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ