arrow

काठमाडौं महानगरपालिकाको जिम्मा वालेन्द्रलाई, को हुन् उनी ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ११ बुधबार
walendra-sah.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा पहिलो पटक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले मात्र सम्हालेको महानगरपालिकालाई यसपालि एक स्वतन्त्र उम्मेदवारले सम्हाल्ने भएका हुन् । उनी हुन् वालेन्द्र साह । 

पेशाले इन्जिनियर वालेन्द्र गायक पनि हुन् । तर फरक धार समात्ने क्रममा उनी पहिलो पटक राजनीतिमा होमिए । काठमाडौं महानगरपालिकाको मेयरमा उठे र एकैपटकमा सत्ता गठबन्धन र एमालेजस्ता दलका उम्मेदवारलाई पछाडि छाडे । काठमाडौं महानगरका मतदाताले कहीं पनि प्रयोगमा नआएका उम्मेदवारलाई जिताइदिए । 

पटक पटकका ‘टेष्टेड’ दलका नेताहरुलाई छाडेर मतदाताले वालेन्द्रलाई जिताइदिए । उनले नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह र एमालेका उम्मेदवार केशव स्थापितलाई पछाडि पारे । भारी मतान्तरले जितेका (अन्तिम नतिजा आउन बाँकी छ, मतगणना सकिएको छैन, तर उनले पाएको मत र दोस्रो स्थानकी सिर्जनाको मतको अन्तर गन्न बाँकी मतभन्दा बढी भएपछि विजयी सुनिश्चित)) जितेका वालेन्द्रले जसरी मतदाताको मन पहिलो पटकमै जिते त्यसरी नै पाँच वर्ष महानगर चलाइरहँदा सबैको मन जित्न सकुन् । 

भावनामा नबहकिइकनै लाग्ने हो भने असम्भव केही पनि छैन । मतगणना शुरु हुँदा शुरुआतदेखि नै अग्रता लिएका वालेन्द्र पछाडि फर्कनु परेन । कसैसँग प्रतिस्पर्धात्मक भावनाले जानै परेन । 

स्थापितले मतगणनाको दोस्रो दिन बिहान अर्थात् जेठ १ गते भनेका थिए, ‘रात परेपछि मैले अग्रता लिन्छु ।’ दिनभर वालेन्द्र अगाडि भए पनि त्यसपछि भने आफूले अग्रता लिएर मेयरमा जित्ने उनले दाबी गरेका थिए । 

स्थापितका लागि यसपालिको चुनावमा रातै परेन । दिनमै खाइदिए वालेन्द्रले । 

को हुन् वालेन्द्र ? 
उनले इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । देशका ६५ जिल्ला घुमिसकेको दाबी गर्ने वालेन्द्र आफूजस्ता पाँच दर्जन युवा स्थानीय तहको प्रमुख भए देश बनाउन सकिन्छ भन्ने अठोट लिएर देश बनाउन लागेको बताउँछन् । 

मात्र ३३ वर्षका वालेन्द्र चर्चामा भने उनको र्याप गीतबाटै आएका हुन् । उनले दल र नेताहरुले देश लुटेको गीत गत वर्ष सार्वजनिक गरेसँगै चर्चामा आएका थिए । 

‘नेता जति सबै चोर देश लुटी खा’ छन्,
खाने बेला एक, गर्ने बेला फुटिरा’छन्
नांग्रेस, नेमाले, नाओवादी
सबै मिली देश खाउँ बाँडी हामी’

जब यो गीत बाहिर आयो तब विस्तारै उनले युवाहरको मन जित्दै गए । सुशासनको धज्जी उड्दै गएको अहिलेको राजनीतिक कुचक्रमाथि नै प्रहार गरेका वालेन्द्रमाथि विश्वास बढेसँगै काठमाडौंका मतदाताले वालेन्द्रलाई नै मत दिए । 

काठमाडौंको गौरीगाउँमा जन्मिएका वालेन्द्र संगीतमा पनि बाल्यकालदेखि नै लागेका हुन् । तर गति भने ढिला गाए । 

उनी अब काठमाडौं बनाउने तरखरमा छन् । उनको इन्जिनियरिङले २०७२ सालको भूकम्पपछि उद्धार, राहत वितरण र पुनःनिर्माणको काममा मद्धत गरेको थियो । 

स्नातक बढ्दादेखि काठमाडौंको मेयर बन्ने सोच बनाएका उनले निरन्तर अभ्यास गरिरहे । कामदेखि गायनबाट आम्दानी गर्ने उनी सेवाकै लागि राजनीतिमा आएको दाबी गर्छन् । 

उनको एजेन्डाले काम गर्यो भने घिसिपिटीमा रहेको काठमाडौंले पनि नयाँ मुहार हेर्न पाउँथ्यो कि ! कम्तीमा फोहरको थुप्रोको परिचय हट्थ्यो कि ! ट्राफिक जाममा परेर काम नै अलपत्र हुनुपर्ने अवस्था त हट्थ्यो कि !

एउटा इमानदार नेतृत्वकर्ताबाट गर्ने सबै अपेक्षा वालेन्द्रबाट गर्न सकिन्छ । तर कथंकदाचित कुनै शक्तिमा ढल्केर वा नेताको घरमा जान पल्केर वा कुनै वादको पछि लागेर काठमाडौंका सिधासाधा मतदाताको मर्म भुले भने वालेन्द्रको यात्रामा स्थित नहुनेमा दुईमत छैन । 

जसरी लौरो चलेको छ त्यसरी नै उनको काममा पनि लौरो चलोस् । शुभकामना ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ