- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बागलुङ । झरीबीच रामकोटधाममा आज रथयात्रा महोत्सव चलिरहेको छ । काठेखोला गाउँपालिका-५ मा पर्ने उक्त धार्मिकस्थलमा बर्सेनि जेठ ११ मा भगवान् शिवको रथयात्रा निकालिन्छ ।
धाममा अवस्थित त्रिपुरेश्वर महादेव मन्दिरको प्राणप्रतिष्ठा गरिएको दिन पारेर हरेक वर्ष आजैका दिन रथयात्रा गर्ने थिति बसालिएका हो । दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजले विसं २०४० मा उक्त मन्दिरको स्थापना गरेका थिए ।
त्यसयता सालिन्दा रथयात्रा महोत्सव गर्ने गरिएको परमानन्द सन्यास आश्रमका उपाध्यक्ष गौरीशङ्कर शर्मा सुवेदीले बताए । “अहिलेको ३९औँ रथयात्रा हो, झरीको समेत पर्वाह नगरी भक्तजनको भीड लागेको छ”, उनले भने, “महादेव शङ्करको जन्मोत्वसका रुपमा यसलाई मनाइन्छ ।” पहिलेपहिले घरधन्दा, खेतीपाती र सरकारी कामकाजसमेत छाडेर मानिसहरु रथयात्रामा सामेल हुने गरेको उपाध्यक्ष सुवेदीले सुनाए । रथयात्रा निकाल्नुअघि मन्दिर परिसरमा पण्डितहरुले लघुरुद्राभिषेकलगायत विशेष पाठपूजा गर्ने चलन छ ।
दिउँसो भगवान् शिवको प्रतिमालाई रथमा राखेर भजनकीर्तन र बाजागाजासहित धामको वरिपरि परिक्रमा गराइन्छ । “श्रद्धालुहरुले महादेवको उपासना गर्छन्, रथयात्रामा सहभागी हुँदा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ”, उपाध्यक्ष सुवेदीले भने, “यो वर्ष पनि चितवन, गुल्मी, पर्वत, म्याग्दीलगायत ठाउँबाट भक्तजनहरू आउनुभएको छ ।”
रथयात्रा महोत्सव रामकोटधामको धार्मिक, सांस्कृतिक चिनारीसँग जोडिएको स्थानीयवासी भरतप्रसाद सापकोटाले बताए । रथयात्रा गरेमा घरगाउँमा महाव्याधि नआउने, अन्नपातको सङ्कट नहुने, लामो खडेरी नपर्ने जस्ता जनविश्वास रहिआएको उनको भनाइ छ ।
“रामकोटधामका संस्थापक दिवङ्गत गुरु परमानन्द सरस्वती महाराजका पालादेखि नै रथयात्राको परम्परा सुरु भएको हो,” सापकोटाले भने, “हरेक वर्ष जेठ ११ गते नै रथयात्रा निकालिन्छ, धार्मिक हिसाबले यसलाई महत्वका साथ लिइन्छ ।” धाममा महादेव मन्दिरसँगै सन्यास आश्रम र संस्कृत गुरुकुल पनि छ ।
गुरुकुलको पनि दिवङ्गत स्वामी परमानन्द सरस्वतीले शुरुआत गरेका थिए । उनी रामकोटधामको संस्थापकले समेत हुन् । हाल धामको संरक्षक राष्ट्रिय सन्त समाजका अध्यक्ष श्री १००० स्वामी ज्ञानानन्द सरस्वती छन् । परम्पराको जगेर्ना, पूर्वाधार विकास र प्रचारप्रसारले पछिल्लो समय रामकोटधाम धार्मिक गन्तव्यस्थलका रुपमा चिनिँदै गएको छ । गण्डकी प्रदेशका ११० पर्यटकीय गन्तव्यमा पनि रामकोटधाम सूचीकृत छ ।
धाम क्षेत्रको संरक्षण र विकासमा सरकारी निकायदेखि जनसाधारणसम्मको हातेमालो छ । त्यहाँ रथयात्रा महोत्सवसँगै बालाचर्तुदशी, शिवरात्रिलगायत पर्वमा पनि धार्मिक मेला र अनुष्ठान चल्ने गर्छन् । वैदिक विधिद्वारा दैनिक पूजाआजा हुने भएकाले रामकोटधाम भक्तजनको रोजाइमा छ । त्रिपुरेश्वर महादेव मन्दिरभित्र रहेको पाँच सय किलोको शिवलिङ्गले पनि धामको आकर्षण थपेको छ । भारतको नर्मदा नदीबाट ल्याएर उक्त शिवलिङ्ग त्यहाँ प्रतिस्थापन गरिएको हो ।
झन्डै ३५० रोपनी क्षेत्रफलमा धाम फैलिएको छ । पहाडको थुम्कोमा चारैतिरबाट जङ्गलले घेरेको हुनाले रामकोटधाम यसै पनि आकर्षक छ । सदरमुकामदेखि बागलुङ बजारदेखि २० किमी दूरीमा रामकोटधाम पर्छ । नजिकै मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्ने भएकाले आउजाउ सहज छ ।