arrow

तलब नपाएपछि नेपालगन्ज मेडिकल कलेजका चिकित्सक तथा कर्मचारी आन्दोलनमा उत्रिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १२ बिहिबार
nepalgung-medical.jpg

नेपालगन्ज । चार महिनादेखि तलब भत्ता नपाएको भन्दै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सक तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् । 

उनीहरू आन्दोलनको पहिलो दिन बिहीबार बिहान अस्पताल प्रशासन अगाडि एक घण्टा धर्ना बसेका थिए । बिहान ९ बजेदेखि १० बजेसम्म हातमा कालो पट्टी बाँधेर धर्ना बसेका थिए । नेपालगन्ज मेडिकल कलेज प्राध्यापक परिषद्को अगुवाइमा आन्दोलन थालिएको हो । परिषद्को अध्यक्षमा डा. विनोद महासेठ छन् । तदर्थ समितिका रूपमा रहेको यो परिषद् दर्ताको प्रक्रियामा छ ।

अस्पतालमा कार्यरत प्राध्यापकको पेशागत हकहित एवम् प्राज्ञिक गरिमा, मान मर्यादा र उन्नतिका लागि परिषद् गठन गरिएको परिषद्का सचिव डा. अरुण महतले बताए । यही परिषद्को अगुवाइमा चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन् । चिकित्सकहरूले मासिक रूपमा पाउनुपर्ने तलब माघ महिनादेखि नपाएको बताएका छन् । यस्तै प्रोत्साहन भत्ता रोकिएको पनि महिनौँ बितिसकेको चिकित्सकहरू बताउँछन् ।

‘अस्पताल जस्तो संवेदनशील थलोमा आन्दोलन गर्नु हाम्रो रहर हुँदै होइन, परिषद्का सूचना अधिकारी समेत रहेका सचिव महतले भने-‘अस्पताल प्रशासनले तलब भत्ता नै नदिएपछि के गर्नु ?’ नेपालगन्ज मेडिकल कलेजमा ११४ जना चिकित्सक छन् । अधिकांशले तलब भत्ता नपाएको डा. महतको भनाई छ । यस्तै अन्य कर्मचारीले पनि तलब भत्ता नियमित पाउन नसकेको गुनासो सुनाएका छन् ।

सामाजिक सेवा इकाई प्रमुख रामबहादुर मल्लले परिषद्को आन्दोलनमा आफूहरूको पूर्ण साथ रहेको बताए । नेपाल ट्रेड युनियन काँग्रेस बाँकेका अध्यक्ष समेत रहेका मल्लले अस्पताल प्रशासनले आन्दोलनलाई गम्भीरतापूर्वक लिएर तत्काल निकास निकाल्नुपर्ने बताए ।

चिकित्सक तथा कर्मचारीहरूलाई तलब भत्ता नदिए कडा आन्दोलन गर्ने उनको चेतावनी छ । आन्दोलनका कार्यक्रम अन्तर्गत आज र भोलि हातमा कालो पट्टी बाँधेर एक घण्टा धर्ना दिने माग सम्बोधन नभए १६ गतेदेखि आंशिक रूपमा ओपिडी सेवा बन्द गर्ने परिषद्को चेतावनी छ ।

अस्पताल प्रशासनले भने कोभिड महामारीकै असरले नियमित तलब भत्ता दिन गाह्रो भइरहेको बताएको छ । अस्पतालका प्रशासनका प्रमुख कुमार अधिकारीले कोभिड महामारीका कारण त्यसको असर अहिले पनि अस्पतालमा परिरहेकाले समयमा तलब भत्ता दिन नसकिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ