arrow

मध्यपहाडी लोकमार्गको गलकोट खण्ड क्षतविक्षत

logo
रासस
प्रकाशित २०७९ जेठ १२ बिहिबार
Lok marga.jpg
फाइल तस्वीर

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गको घोडाबाँधे-गलकोट खण्ड अहिले क्षतविक्षत अवस्थामा रहेको छ । यस राजमार्गको शुरुमा उक्त खण्ड कालोपत्रे गरिएको थियो । 

राजमार्गअन्तर्गत बागलुङको घोडाबाँधेदेखि गलकोटको हटिया सडक कालोपत्रे भएको सात वर्ष बित्यो । अहिले उक्त खण्ड निकै जीर्ण बनेको हो । कमसल सामग्री प्रयोगका कारण अहिले सडकखण्डको विभिन्न स्थानमा कालोपत्रे उप्किएर यात्रा गर्न निकै समस्या भएको हो । वर्षामा आएको बाढी र पहिरोका कारण क्षतविक्षत भएको उक्त जीर्ण सडकखण्डमा अहिले यात्रुले सास्ती खेप्दै आएको गलकोट नगरपालिका-२ का वडाध्यक्ष हेमन्त भण्डारीले जानकारी दिए ।

 “यात्रुले यो सडकखण्डमा निकै कष्टपूर्ण यात्रा गर्न बाध्य छन्, सरोकारवालाले अहिले चासो देखाएको बुझिएको छ”, उनले भने । घोडाबाँधे-गलकोट खण्डको २० किलोमिटर सडकको अधिकांश स्थानमा खाल्टाखुल्टी, बर्षायाममा सडक माथिदेखि झरेको भलसहितको लेदो र पहिरोका कारण कालोपत्रे सडक जीर्ण बनेको छ । केही स्थानमा कालोपत्रे उप्किएर खाल्टा पर्दा  पानी जमेको छ ।

कालोपत्रे सडक जीर्ण बनेपछि मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले मर्मतसम्भारका लागि चासो देखाएको छ । कालोपत्रे गरेको सडक सात बर्षपछि जीर्ण बनेर दुर्घटनाको जोखिम बोढेपछि सडक मर्मतका लागि आयोजना कार्यालयले ममंतसम्भारको प्रक्रिया अघि बढाएको हो । घोडाबाँधेदेखि गलकोट हटियासम्मको २० किलोमिटर सडक मर्मतका लागि प्रक्रिया अगाडि बढेको मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका कार्यालय प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए ।

उनले सडक मर्मतका लागि बोलपत्र आह्वान गरिसकेको बताउँदै ठेक्का प्रक्रियामा गएपछि मर्मत कार्य सुरु हुने बताए । उनले २० किलोमिटर सडक मर्मतका लागि झण्डै रु २० करोड खर्च लाग्ने बताए । “सडक मर्मतका लागि बोलपत्र आह्वान भएको छ, ठेक्का सम्झौतालगत्तै सडक मर्मतकार्य सुरु हुनेछ”, उनले भने । उनका अनुसार ठेक्का सम्झौता भएको दुई वर्षमा सडक मर्मत सक्ने समयसीमा हो ।

उक्त खण्डमा पहिरोका कारण कालोपत्रे मात्रै नभएर पूर्वाधारमा समेत क्षति भएको भण्डारीले बताए । उनका अनुसार कल्भर्ट, पर्खाललगायतका पूर्वाधारमा ठूलो क्षति भएपछि अहिले उक्त सडक मर्मत गर्न थालिएको हो । 

उक्त सडक आर्थिक वर्ष २०७१/७२ मा कालोपत्रे भएको थियो । कालोपत्रे सडक बिग्रिंदा सवारीसाधनसमेत मर्का परेको र धेरै सावरीसाधन बिग्रदै गएको सवारीचालक लोकबहादुर विकले गुनासो गरे । उनले सडक कालोपत्रे बिग्रिएपछि कच्ची सडक झैं यात्रामा असहज भएको बताए । 

अहिले मध्यपहाडी लोकमार्गको करिब २० किलोमिटरबाहेक अन्य सबै सडक कालोपत्रे भइसकेको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड १४२ किलोमिटर दूरीको रहेको छ । अहिले जिल्ला सदरमुकाममा कालोपत्रेको काम भइरहेको छ । आगामी केही महिनामा लोकमार्गको सबै सडक कालोपत्र भइसक्ने र बिगर्दै गएको अन्य खण्डसमेत क्रमशः मर्मत गर्दै जाने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनायो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ