arrow

हिमपातले यार्सागुम्बा सङ्कलन रोकियो

logo
रासस
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
himpat-manang.jpg
फाइल तस्वीर

मनाङ । औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलन रोकिएको छ । हिमाली जिल्ला मनाङमा हिमपात भएपछि यार्सागुम्बा सङ्कलनका लागि खर्कमा पुगेका सङ्कलक फर्किएका हुन् । हिमपातले गर्दा यार्सागुम्बा सङ्कलन गर्न सक्ने अवस्था नभएपछि बेँसी फर्किएको धादिङका मिलन तामाङले बताए । “मनाङमा पानी परेपछि भ्राताङ लेकमा हिउँ पर्दा यार्सागुम्बा सङ्कलन गर्न नसकेर बेँसीतर्फ फर्किएका हौँ, ठेक्कामा काम गर्न यहाँ आएका हौँ”, उनले भने ।

नार्फुको हुलाबाट लेकमा यार्सागुम्बा सङ्कलन गर्ने गरेको धादिङ रिहीका ४६ वर्षीय एक्का तामाङले बताउनुभयो । दैनिक नौ-दशवटा यार्सागुम्बा सङ्कलन गर्न सकिने उनले बताए । “एक दिनको पैदलयात्रा गरी चैतदेखि यार्सागुम्बा सङ्कलनका लागि मनाङ आएका हौँ । लेकमा बसेको साढे एक महिना भयो । यार्सा ठेकेदारले लिने र चार जनाका लागि रु साढे चार लाख खर्च गरेको छ”, उनले भने, “पिसको रु ४०० मा ठेकेदारले लिन्छन् । पूर्जी र रासनको खर्च पुग्ने गरी सङ्कलन गरेको छु । गत वर्ष भने घाटा भएको  थियो ।”

डेढ महिनामा २०० यार्सागुम्बा सङ्कलन गरेको उनी बताउछन् । ठेकेदारले राम्रो प्रकारको यार्सागुम्बामात्रै खरिद गर्ने उनले बताए । यार्सागुम्बा टिप्ने समयमा मात्रै मनाङ आउने गरेको तामाङले बताए । राशन सकिएपछि लिन आएको र हिउँ परेपछि यार्सागुम्बा सङ्कलन गर्न सकस भएकाले बेँसी फर्किएको उनी बताउछन् । आफैँले खाना बनाएर खाने र ओढारमा बसेर यार्सागुम्बा सङ्कलन गर्ने गरेको तामाङले बताए । धादिङका १९ जनालाई यार्सागुम्बा सङ्कलन गर्नका लागि ठेकेदारले रु ४२ लाख पूर्जी काटेको सोही ठाउँका ३० वर्षीय एसु तामाङले बताए । हालसम्म ५२० यार्सागुम्बा सङ्कलन गरेको उनले बताए ।

ठेकेदारले यार्सागुम्बा सङ्कलकलाई प्रतिगोटा रु ४०० दिने गरेको एसुले बताए । यार्सागुम्बा सङ्कलन गरी भएको आम्दानीले घरपरिवारको आवश्यकता पूर्ति गर्न उपयोग गर्ने उनीहरू बताउछन् । तान्जो खर्कमा हिउँ पर्नुका साथै खाद्यान्न सकिएपछि सामग्री लिन चामे झरेको सोही ठाउँका रोहित तामाङ बताउछन् । “ठेकेदारले राम्रो खालको यार्सागुम्बालाई प्रतिगोटा रु ४०० दिन्छ । खर्कमा नै ठेकेदारले लैजाने र रकम लिन्छौँ”, रोहितले भने ।

केही खर्कमा चैत पहिलो सातादेखि जेठको तेस्रो हप्तासम्म यार्सागुम्बा सङ्कलन गर्ने समय हो भने केही स्थानमा असारको पहिलो हप्तासम्म यार्सागुम्बा सङ्कलन गर्न सकिन्छ । यार्सागुम्बा पाउने समय अझै रहेकाले हिमपात र खाद्यान्न लिएर पुनः खर्कतर्फ जाने उनीहरू बताउँछन् । विशेषगरी यस मौसममा औषधिजन्य जडीबुटी सङ्कलन गरी घरमा ल्याएर सुरक्षित गर्ने समयका रूपमा लिइन्छ । औषधिजन्य जडीबुटी सङ्कलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले यार्सागुम्बा सङ्कलन गर्न इजाजत प्राप्त भएपछि समितिमार्फत पूर्जी दिने निर्णय भएको थियो । 

बैठकको निर्णयबमोजिम नै यार्सागुम्बा सङ्कलन गर्न पाउने भएपछि मनाङवासीलाई चटारो छ । जडीबुटी सङ्कलन मनाङवासीको मुख्य आयस्रोत मानिन्छ । यार्सा सङ्कलनका लागि जिल्लावासीमात्रै नभएर बाहिरी जिल्लाबाट पनि आउने गर्दछन् ।

नाम्केखर्कबाट शुरु हुन्छ भने नारफु र माथिल्लो मनाङको खाङ्सार खर्कमा यार्सा सङ्कलन कार्य सकिने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसारको पहिलो हप्तासम्म औषधिजन्य जडीबुटी सङ्कलन गर्न सकिने समय हो । वैशाख १५ देखि असारको पहिलो सातासम्म औषधिजन्य जडीबुटी सङ्कलन गरी बेँसीतर्फ यार्सागुम्बा सङ्कलक फर्किने छन् ।

मनाङवासीले यहाँको नागरिकता वा बसाइँसराइ भएमा बसाइँसराइको प्रमाणपत्र समितिमा संलग्न राखी यार्सा सङ्कलन पूर्जी दिनेछ । संस्थामार्फत यार्सा सङ्कलन गरिँदै छ भने आर्थिक वर्ष २०७७/७८ का लागि दिइएको सङ्कलन पूर्जी उपलब्ध गराउने उनले बताए । यार्सा सङ्कलन अवधिभर नेपाल प्रहरीद्वारा आवश्यकतानुसार नार, फुलगायतका अन्य स्थानमा सुरक्षा प्रबन्ध मिलाउने र अन्य सुरक्षा निकायले सहयोग गर्ने उनले बताए । 

यार्सागुम्बा सङ्कलन गरेको परिचयपत्र सम्बन्धित संरक्षण क्षेत्र, सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समितिको सिफारिस तथा दस्तुर तिरेको रसिद र सम्बन्धित गाउँपालिकाको दस्तुर तिरेको रसिद लिएर आएमा मात्र छोडपूर्जी दिन अनुरोध गरिएको गौतमले बताए । उनका अनुसार यार्सागुम्बा पाइने क्षेत्रमा सङ्कलन गर्न जाने सङ्कलकले १० वटा यार्सागुम्बामा एकवटा यार्सागुम्बा छोड्नुपर्ने प्रावधान निर्धारण गरिएको छ । 

मनाङ बाहिरका यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलक र खरिद गर्न आउने व्यक्तिले अनिवार्यरूपमा कोभिड-१९ विरुद्धको खोप लगाएको परिचयपत्र (मोबाइलमा भए पनि खोपकार्ड) लिएर आउनुपर्ने र प्रहरी कर्मचारीले माग गरेको अवस्थामा देखाउनुपर्नेछ । यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलक तथा खरिदकर्ताले आवश्यक स्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध गरिएको छ ।

गत दुई वर्ष यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलन र खरिद बिक्री गर्न नसक्दा जिल्लाको राजस्व पनि घटेको थियो । यस वर्ष जडीबुटी सङ्कलन भएकाले राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ । विगतमा जेठ अन्तिम सातासम्म यार्सागुम्बा सङ्कलन गर्ने समय तोकिएको भए पनि यस वर्ष निर्वाचनका लागि केही समय रोक लगाइएको हुँदा असारको पहिलो हप्तासम्म सङ्कलन गर्न दिने निर्णय भएको छ ।



नयाँ