- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक वरिष्ठ अधिकारीले शुक्रबार गैर स्थानीय देशहरूमा मङ्कीपक्सको संक्रमण देखिएको विषयलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको भन्दै तत्काल कदम चाले नियन्त्रण गर्न सकिने बताएका छन् ।
सामान्यतया एक हल्का भाइरल संक्रमणका रूपमा रहेको मङ्कीपक्स खास गरी अफ्रिकी देशहरूमा फेला पर्ने गरेको थियो। तर अहिले अमेरिका, क्यानडा एवं युरोपेली देशहरूमा समेत यसको संक्रमण देखिइसकेपछि यसले चिन्ता बढाएको छ ।
'हामीलाई लाग्छ कि यदि हामीले अहिले सही उपायहरू चाल्यौँ भने, हामी यसलाई सजिलैसँग नियन्त्रण गर्न सक्छौँ,' ग्लोबल सङ्क्रामक जोखिम तयारीका लागि डब्ल्यूएचओ निर्देशक सिल्वी ब्रान्डले संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सीको वार्षिक सम्मेलनमा सदस्य राष्ट्रहरूसँग प्राविधिक ब्रिफिंग गर्दै भनिन् ।
यस्तै उनले मङ्कीपक्सको संक्रमण कोरोना भाइरसजस्ता अन्य भाइरसको तुलनामा धेरै ढिलो हुने भएकाले चिन्ता नगर्न सर्वसाधारणलाई आग्रह गरिन् ।
डब्ल्यूएचओका अधिकारीहरूले अहिले सामूहिक खोपको आवश्यकता नभएको तर संक्रमित व्यक्तिको नजिकको सम्पर्कमा रहेका ठाउँमा लक्षित खोप लगाउने बताएका छन् ।
'केस अनुसन्धान, कन्ट्याक्ट ट्रेसिङ, घरमा आइसोलेसन सबैभन्दा राम्रो विकल्प हुनेछ,' डब्ल्यूएचओ आपत्कालीन कार्यक्रमको एक हिस्सा स्मलपोक्स सचिवालयका प्रमुख रोसामुन्ड लुइसले भनेका छन् ।