arrow

स्थानीय निर्वाचनमा एक पालिका बाहेकको परिणाम आयो, नेतृत्वमा कांग्रेस र मतमा एमाले अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १७ मंगलबार
local-level-election-2079.jpg

काठमाडौं । स्थानीय तहको निर्वाचनको ७५२ स्थानीय तहको अन्तिम मत परिणाम आइसकेको छ । ७५३ पालिकामध्ये बाजुराको बुढीगंगा नगरपालिकाको मात्र परिणाम आउन बाँकी रहेको छ । 

यसपालि नेतृत्वमा नेपाली कांग्रेस निकै अगाडि रह्यो भने मत भने नेकपा एमालेले बढी पाएको छ । कांग्रेसले दोस्रो स्थानको नेकपा एमाले र तेस्रो स्थानको नेकपा माओवादी केन्द्रको भन्दा बढी पालिकामा नेतृत्व गर्ने अवसर पाएको छ । 

तर मतका आधारमा भने एमालेले कांग्रेसलाई उछिनेको छ । कांग्रेसले सबैभन्दा बढी ३२९ पालिकाको नेतृत्व पाएको छ । एमालेले २०५, माओवादी केन्द्रले १२१, जनता समाजवादी पार्टी जसपाले ३०, नेकपा एकीकृत समाजवादी (एस) ले २०, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १६ र स्वतन्त्र, राप्रपा लगायतका अन्य पार्टीले ३१ पालिकामा प्रमुख पद जितेका छन् ।  

कांग्रेसले पालिका प्रमुखमा झण्डै ४४ प्रतिशत हिस्सा ओगटेको छ । तर पालिकाका सात पदः प्रमुख, उपप्रमुख, वडाध्यक्ष, दुई खुला सदस्य, महिला सदस्य र दलित सदस्यको योगफल गर्दा भने एमालेले बढी मत पाएको छ । 

उदयपुरको त्रियुगा नगरपालिकाको मतपरिणाम सोमबारमात्र आएको छ भने बाजुराको बुढीगंगा नगरपालिकामा पुनः निर्वाचन हुँदै छ । 

निर्वाचन आयोगका अनुसार ७५१ पालिकामा सातै पदमा गरी ७ करोड ५८ लाख ९ हजार ७ सय ३२ मत सदर भएको थियो । जसमध्ये एमालेले २ करोड ५८ लाख ७३ हजार ९ सय १३ मत पाएको छ । यो कुल सदर मतको ३४ दशमलव १३ प्रतिशत हो । 

एमालेले २०७४ को निर्वाचनमा सातै पदमा गरी २ करोड १४ लाख ५० हजार मत पाएको थियो । 

स्थानीय तहको निर्वाचनमा दोस्रो मत कांग्रेसले पाएको छ । कांग्रेसले एमालेको भन्दा ८ लाख ४७ हजार ९ सय ९४ मत कम पाएको छ । कांग्रेसका सातै पदका उम्मेदवारले २ करोड ५० लाख २५ हजार ९ सय १९ मत पाएका छन् । यो कुल सदर मतको ३३ प्रतिशत हो । 

कांग्रेसले २०७४ मा २ करोड ८ लाख ७४ हजार मत पाएको थियो । 

माओवादीले सदरमध्ये १ करोड १ लाख ३२ हजार ३ सय १५ अर्थात् १३ दशमलव ६५ प्रतिशत मत पाएको छ । २०७४ सालमा माओवादीले सातै पदमा १ करोड १२ लाख १४ हजार १ सय ३३ मत पाएको थियो । 

नेकपा एसले ३ दशमलव ९३ प्रतिशत मत पाएको छ । उसका उम्मेदवारले सातै पदमा गरी २९ लाख ८४ हजार ६ सय ७९ मत ल्याएका छन् । 

दुई पालिकालाई छाडेर यसपालि ६८ दशमलव ७ प्रतिशतले मतदान गरेका थिए । जसमा करिब साढे १३ लाख मत बदर भएको छ ।

दुई पालिकाको समेत जोडेपछि यसपालिको निर्वाचनको पूर्ण विवरण आउने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ