- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । वरिष्ठ संस्कृतिकर्मी, शिक्षासेवी, समाजसेवी, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ र धर्मपत्नी मीरा गुरुङको स्मृतिमा निर्माण गरिएको मेनकाजी-मीरा स्मृतिकक्ष शुभारम्भ गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं. ९ पुरानो बसपार्कस्थित हिमाली सांस्कृतिक परिवारको भवनमा निर्माण गरिएको स्मृतिकक्ष गुरुङको प्रथम वार्षिकीका दिन पोखरा-९ का नवनिर्वाचित वडाध्यक्ष दीपेन्द्र मर्सानीले शुभारम्भ गरेका हुन् ।
मेनकाजी गुरुङ र मीरा गुरुङले सञ्चालन गरेको कञ्चनजङ्गा होस्टेलका पूर्व विद्यार्थीहरु हाल जापानमा रहेकी लक्ष्मी गुरुङ र युके निवासी आरती गुरुङको विशेष पहलमा होस्टेलका पूर्व विद्यार्थीहरुद्धारा संकलित छ लाख ३३ हजार ५३ रुपैयाँसहित हिमाली सांस्कृतिक परिवारबाट आठलाख रुपैयाँको लागतमा स्मृति कक्ष निर्माण गरिएको हो ।
कार्यक्रमका वडाध्यक्ष मर्सानीले लोक संस्कृति क्षेत्रका नक्षत्र र वडा नं. ९ कै गहनको रुपमा रहेको संस्था हिमाली सांस्कृतिक परिवारका अध्यक्ष गुरुङले निधनले ठूलो क्षति पुगेको बताए । उनले आफ्नो पारिवारिक सम्बन्ध एवं छोरीहरुका गुरु र गुरुआमा गुमाउनु पर्दा अति नै पीडा भएको भन्दै हिमाली सांस्कृतिक परिवारका लागि वडा नं. ९ सधै साथ, सहयोग र सहकार्य गर्न तयार रहेको स्पष्ट पारे ।
कार्यक्रममा हिमाली सांस्कृतिक परिवारका सल्लाहकार एवं तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले गुरुङको निधनले मुलुकले लोकसंस्कृतिको निधी, जिउँदो संग्रहालय नै गुमाएको बताए । उनले गुरुङलाई चीरकाल स्मरण गर्नका लागि ३५ लाख रुपैयाँको स्मृतिकोष स्थापना गरिएको जानकारी दिए ।
हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहसचिव मनबहादुर गुरुङ र संचालन सचिव श्रीजंग गुरुङले गरेका थिए । मेनकाजी र मीरा गुरुङ दम्पत्तिको गतवर्ष जेठ १७ गते र जत जेठ १ गते कोरोना संक्रमणका कारण निधन भएको थियो ।