arrow

सांसदका कुरा

विधेयक नरोकौं, संसद र सांसदको गरिमा बढाऔं – दिव्यमणी राजभण्डारी

प्रतिनिधि सभाबाट पास भएका विधेयकहरु समितिमा छलफल नभएकोप्रति असन्तुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २४ मंगलबार
divyamani-rajbhandari-parliament-2079.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद दिव्यमणी राजभण्डारीले प्रतिनिधि सभाबाट पास भएका विधेयकहरु समितिमा छलफल नभएकोप्रति असन्तुष्टि जनाएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक–२०७९ मन्त्रालयगत विभिन्न शीर्षकहरुमाथिको छलफलमा बोल्दै उनले माफियाको दबाबमा विषयगत समितिहरुले विधेयकहरुलाई छलफलमै नल्याएको आरोप लगाए ।

‘प्रतिनिधि सभाबाट पास भएका विधेयकहरु जुनचाहिँ समितिमा गएका छन् माफियाहरुको स्वार्थमा छलफल नै हुँदैन । पास नै हुँदैन’, उनले भने, ‘यतिधेरै रेक्रिफिटेसन अफ एग्रिमेन्टहरुमध्ये एमसीसी बाहेक अन्य एग्रिमेन्टहरु रेक्रिफिटेसन भएका छैनन् । यसले हाम्रो अन्तर्राष्ट्रिय इमेज खराब हुनेछ । त्यसैले कार्य सम्पादन गर्न सरकारले काम गर्नुपर्छ ।’

आर्थिक वर्षको बजेटमाथि टिप्पणी गर्दै सांसद राजभण्डारीले सन्धि, सम्झौता, मस्यौदा, सीप विकास तालिम, अन्तर्राष्ट्रिय वार्ता सीप तथा कला अभिबृद्धि तालिम, सार्वजनिक खरिद सम्बन्धी क्षमता विकास तालिम र विधेयक सम्बन्धी तालिम गर्ने बजेटमा उल्लेख भएको भन्दै कसलाई तालिम दिने भनेर प्रतिप्रश्न गरे । संसदको गरिमा बढाउन र सांसदहरुको क्षमता बढाउनुपर्ने उनले औंल्याए । 

उनले भने, ‘आजको दिनमा सांसदको गरिमा बढाउने र सांसदहरुको चाहिँ क्यापिसिटी बिल्डिङ अभिवृद्धि गर्नुपर्ने आवश्यकता छ । किनकि हामीले यहाँ बसेर आफूले गर्ने कार्यहरु गर्न सकेका छैनौं । किनकि हामीले कानूनै बनाउन सकिरहेका छैनौं ।’

उनले अगाडि भने, ‘बाँकी रहेका विधेयकहरु नरोकौं । व्यक्तिगत स्वार्थ र पार्टीको स्वार्थमा नजानको निम्ति र अगाडि जानका लागि म विशेष अनुरोध गर्दछु ।’

जनप्रतिनिधिको हैसियतले काम गर्न नसकेकोप्रति आत्मालोचना गर्दै उनले कानून नबन्दा समस्या भएको बताए । चालु वर्षमा बाँकी रहेका विधेयक र कानूनहरु बनाउन रोक्न नहुने उनको भनाइ थियो ।

युवा मन्त्रालयले ल्याउन लागेको कार्यक्रमका बारेमा उनले स्काउटको जग्गाको लिजमा दिएको तर पैसा उठाउन नसकेकोप्रति पनि प्रश्न उठाए । 

जेष्ठ नागरिकहरुका लागि उमेर घटाइए पनि अन्य सुविधा बजेटमा उल्लेख नभएकोप्रति गुनासो गरे । भूमि सुधार मन्त्रालयले नयाँ क्रान्तिकारी योजना ल्याए पनि टी स्टेटको जग्गा विक्री गर्न नदिएको बताए ।

नेता राजभण्डारीले सबैका आ–आफ्ना कार्यक्रम भएको उल्लेख गर्दै भने, ‘राष्ट्रपतिको नाममा पनि परियोजना छन्, प्रधानमन्त्रीको नाममा पनि छन् । तर उपराष्ट्रपतिको नाममा भने केही पनि छैन ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ