ग्यास वितरणलाई प्रविधिमैत्री बनाउन आवश्यक, मन्त्रीसँग स्पष्ट कार्यतालिका माग
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३१ बुधबार
163
Shares
काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले खाना पकाउने ग्यास (एलपी ग्यास) को वितरण, अनुगमन र समग्र व्यवस्थापन प्रणालीलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउन सरकारसँग माग गरेका छन्। बुधबार बसेको समितिको बैठकमा बोल्दै सभापति अन्सारीले ग्यास आपूर्ति शृङ्खलामा देखिएका विद्यमान समस्याहरू समाधानका लागि ठोस कदम चाल्न सरोकारवाला निकायहरूको गम्भीर ध्यानाकर्षण गराए।
सभापति अन्सारीले प्रत्येक घरधुरीमा कुन कम्पनीका कतिवटा ग्यास सिलिन्डर छन् भन्ने यकिन तथ्याङ्क राख्न ‘हाउसहोल्ड म्यापिङ’ र एकीकृत सूचना प्रणाली (इन्टिग्रेटेड सिस्टम) को आवश्यकता औँल्याए। वडा तहबाटै उपभोक्ताको विस्तृत विवरण सङ्कलन गरी नेपाल आयल निगम, ग्यास उत्पादक र वितरक सबैले हेर्न मिल्ने गरी डिजिटल प्रणाली विकास गरेमा अनुगमन प्रभावकारी हुने र ग्यासको दुरुपयोग पूर्ण रूपमा रोकिने उनको भनाइ थियो। उनले हालै प्रयोगमा ल्याइएको आधा सिलिन्डरको अभ्यासबाट प्राप्त भएका उपलब्धि र समस्याहरूको गम्भीर समीक्षा गर्दै आगामी दिनमा थप परिमार्जित नीति ल्याउनुपर्नेमा जोड दिए।
ढुवानीमा सहज हुने र तुलनात्मक रूपमा बढी सुरक्षित मानिने ‘लाइट वेट’ (कार्बन फाइबर) सिलिन्डरको प्रयोग बजारमा व्यापक हुन नसकेकोमा चासो व्यक्त गर्दै सभापति अन्सारीले यसको गुणस्तर र सुरक्षाबारे स्पष्ट पार्न सरोकारवालासँग आग्रह गरे। ग्यास पाइपलाइन विस्तार र भण्डारण क्षमता वृद्धिका सम्बन्धमा कुरा गर्दै उनले अब सरकारबाट परम्परागत आश्वासन मात्र स्वीकार्य नहुने चेतावनी दिए।
सभापति अन्सारीले भने, “कुन घरमा कुन कम्पनीको कति सिलिन्डर पुगेको छ भन्ने कुराको जानकारी सम्बन्धित कम्पनी र नियामक निकायलाई हुनुपर्छ। यसका लागि स्थानीय तहसँगको समन्वयमा एकीकृत प्रणाली लागू गर्न ढिलाइ गर्नु हुँदैन। हामीलाई ‘गम्भीर छौँ’ भन्ने जस्ता परम्परागत आश्वासन मात्र चाहिएको होइन। पाइपलाइन निर्माण र भण्डारण क्षमता विस्तारका लागि कति दिनभित्र काम सम्पन्न हुन्छ, त्यसको स्पष्ट कार्यतालिका मन्त्रीज्यूले सार्वजनिक गर्नुपर्छ। लक्ष्यसहितको प्रतिबद्धता नभएसम्म सुधार सम्भव छैन।”
सभापति अन्सारीले सहरी क्षेत्रमा बढ्दै गएका हाउजिङ कोलोनी र अपार्टमेन्टहरूमा ग्यास आपूर्तिलाई सुरक्षित र व्यवस्थित गर्न सामूहिक वितरण प्रणालीको नयाँ अवधारणा अघि सारे। अन्तर्राष्ट्रिय अभ्यासलाई पछ्याउँदै ठूला हाउजिङ र अपार्टमेन्टहरूमा आफ्नै साझा भण्डारण केन्द्र र भित्री पाइपलाइन प्रणाली जडान गर्न उनले ग्यास उद्योगीहरूलाई विशेष पहल गर्न आग्रह गरे। यस्तो आधुनिक प्रणालीले ग्यास वितरणलाई थप व्यवस्थित, सुरक्षित र वैज्ञानिक बनाउने विश्वास उनले व्यक्त गरे।