arrow

सोलमा कोरिया र अमेरिकाका सैन्य अभ्यास सुरु, उत्तर कोरियाले भन्यो- 'हामी पनि तयार छौँ '

logo
प्रकाशित २०७३ भदौ ६ सोमबार
US_ROK.jpeg
सोल । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य अभ्यास सोमबारदेखि दक्षिण कोरियामा सुरु भएको छ । यस सैन्य अभ्यास कोरियाली प्रायद्वीपमा शान्तिका साथै उक्त क्षेत्रमा देखिएको अस्थिरताको नियन्त्रण गरी दक्षिण कोरिया र अमेरिकाको सम्बन्ध विस्तारका लागि गरिएको बताइएको छ । 
 
यस अभ्यासमा अमेरिकाका २५ हजार सेना रहेका छन् । तर ५० हजारको सङ्ख्यामा दक्षिण कोरियाली सेना पनि सो अभ्यासमा सहभागी हुने कार्यक्रम रहेको छ । उत्तर कोरियाले हालैका दिनमा जारी राखेको आणविक परीक्षणका कारण उत्तर कोरिया र दक्षिणबीच व्यापक मात्रामा विवाद जारी रहेको बेला सोमबार सो सैनिक अभ्यास सुरु भएको हो । 
 
कम्प्युटरिकृत तथा अन्य अत्याधुनिक माध्यमहरुको प्रयोगमार्फत गरिने यस सैन्य अभ्यास आजबाट सुरु भएर सेप्टेम्बर २ सम्म नै सञ्चालन हुने बताइएको छ । यस अघि पनि उत्तर कोरियाले गत महिनामात्र पनि समुद्री तटीय क्षेत्रलाई केन्द्र बनाएर क्षेप्यास्त्र छोडेको थियो । 
 
गएको करिब वर्षदिनसम्म नै उत्तरका क्रियाकलापहरु निकै बढ्दो रुपमा देखिएकोले फेरि पनि अर्को परीक्षणको तयारी भएको पाइएको समाचारमा जनाइएको छ । दुई कोरियाबीचको सम्बन्ध पछिल्लो समयमा निकै चिसिएको छ । उत्तर कोरियाको यो परीक्षणका विरुद्धमा दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले प्रतिरक्षात्मक प्रणाली जडान गरेका छन् । 
 
उत्तर कोरियाले त्यस कार्यको निकै कडा शब्दमा विरोध गरेको छ । उत्तरले त्यस्तो प्रणाली दक्षिण कोरिया र अमेरिका मिलेर जडान गरेकोले आफूले त्यस प्रणालीलाई भौतिक कारबाही गर्ने जनाएको छ । उत्तर कोरियाले गतवर्षदेखि सुरु गरेको यो पछिल्लो आणविक परीक्षणको शृंखला अझै रोकिएको छैन । यस्तो शृंखलाका कारण पछिल्ला दिनहरुमा संयुक्त राष्ट्रसंघ, अमेरिका र दक्षिण कोरियालाई पनि झस्काएको बताइएको छ । 
 
 
उत्तर कोरियाले भन्यो– हामी पनि तयार छौँ 
 
यसैबीच उक्त संयुक्त सैन्य अभ्यासको उत्तरले कडा शब्दमा विरोध गरेको छ । उसले यस कार्यलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हो भनेको छ । यो उत्तर कोरियाको सार्वभौमसत्तामाथिको हमला हो भन्दै उसले भन्यो– यदि यस्तै अवस्था कायम रह्यो भने हामी पनि जस्तोसुकै सैन्य कारबाहीका लागि तयार छौँ । 
 
यस सैन्य अभ्यासका क्रममा दक्षिण कोरिया र अमेरिकाको सेनाले उत्तर कोरियाको जल, स्थल वा आकासमा छुनेमात्र प्रयास गर्‍यो भने पनि आफूले नसहने र त्यसको प्रतिकारात्मक कारबाही गर्ने उसले जनाएको छ । 
 
दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसंघले बारम्बार आग्रह गर्दा पनि उत्तर कोरियाले आणविक परीक्षण रोकेको छैन । यसलाई विश्व समुदायले उत्तरको हठी स्वाभाव भईसकेको बताउने गरेका छन् । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ