arrow

देउवाको पहलमा नेपालको अन्तर्राष्ट्रिय छवि बढेको सांसद राजभण्डारीको दाबी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २७ शुक्रबार
divyamani-2079-02-27.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा नेपालको छवि बनेको दाबी गरेका छन् । शुक्रबार परराष्ट्र तथा गृहमन्त्रालयसँग सम्बन्धित विषयमा आफ्नो धारणा राख्ने क्रममा सांसद राजभण्डारीले देउवाका पालामा नेपालको अन्तर्राष्ट्रिय छवि बढ्नुका साथै अन्तर्राष्ट्रिय आर्थिक सहयोग पनि बढेको बताएका हुन् । 

उनले भने, ‘अहिलेको प्रधानमन्त्रीज्यूको पहलमा हाम्रो अन्तर्राष्ट्रिय छवि बढेको पनि छ । हाम्रो अन्तर्राष्ट्रिय आर्थिक सहयोग पनि बढेको छ । उहाँकै पालामा एमसीसी एग्रिमेन्ट भयो उहाँकै पालामा एमसीसीको रेक्टिफिकेशन भयो । फाइभ हन्ड्रेड मिलियन डलर आयो भने एडिसनल सेभेन हन्ड्रेड मिलियन डलर फेरि यसबाट आयो । बाइल्याटरल एजेन्सीबाट यसरी पैसा आएको पहिलो पटक हो ।’

उनले प्रधानमन्त्री देउवाको विदेश भ्रमणबारे बोल्दै भने, ‘डिप्लोमेसी विकासको निम्ति अर्को डिसेन्स डिप्लोमेसीको निम्ति सधै भिजिटहरु आदानप्रदान भइराख्छ । चाहे अमेरिका होस्, चाहे इन्डिया होस्, चाहे चाइना होस्, चाहे युरोप होस् सधै भइराख्छ । त्यसकारण यो देशको विकासको निम्ति, देशको रक्षाको निम्ति हुने चिजहरुलाई लिएर अनर्थ कुरा नसोचिदिनुहुन सबै माननीयहरुलाई अनुरोध गर्न चाहन्छुु ।’

सांसद राजभण्डारीले थपे, ‘चाहे चाइनाका डिफेन्सका मान्छेहरु नेपाल आउँछन् नेपालका पनि डिफेन्सका मान्छेहरु चाइना जान्छन्, जोइन्टली मिलिटरी ट्रेनिङ पनि हुन्छ । इन्डियासँग पनि हुन्छ, अमेरिकासँग पनि हुन्छ । त्यसकारण यो कुनै नौलो कुरा हैन ।’

हाल विश्वमै महंगी बढेकाले सहयोग नआइरहेकोतर्फ ध्यानाकर्षण गराउँदै उनले भने, ‘आज सबै बाहिरको महंगीले गर्दा कतिपय बाइल्याटरल कन्ट्रीहरुबाट हामीलाई सपोर्ट नआइरहेको तपाईहरु सबैलाई ज्ञान छ । त्यसकारणले यस्ता चिजहरुलाई व्यवस्थित गर्दै जाने कुरामा पनि अनेक टिकाटिप्पणी नहोस् भन्नको निम्ति म अनुरोध गर्न चाहन्छु ।’

उनले छिमेकी राष्ट्रहरुसँगको सम्बन्ध बढेकोप्रति खुशी ब्यक्त गर्दै भने, ‘भारतसँगको जुन सम्बन्ध अगाडि बढाउन प्रयास भइरहेको छ त्यो पनि राम्रो छ । चीनका परराष्ट्रमन्त्री नेपाल आउनु भएर सम्बन्धमा जुन एउटा थप आयाम घटेको छ त्यो पनि एउटा राम्रो कुरा भएकोलाई यो पनि सबैको ध्यानाकर्षण गर्न चाहन्छु ।’

सांसद राजभण्डारीले बजेटमा परराष्ट्र मन्त्रालयको कमजोरीप्रति सचेत गराएका छन् । उनले भने, ‘अहिले परराष्ट्र मन्त्रालयमा केही कमजोरी भएका कुराहरु यो बजेटमा उल्लिखित भएको म देख्छु । यसमा बदलिँदो परिप्रेक्ष र कार्यक्षेत्र विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा विशेषमा रहेका नियोगहरुको संख्या पुनरावलोकन गरिने छ । यो भएको कारण मलाई के लाग्छ भनेदेखि चालु आवमा चाहिँ जुन खर्च हेर्दाखेरी पूँजीगत खर्च जम्मा नौ पर्सेन्ट भएको छ । र कतिपय कुराहरुमा अगाडि जानुपर्ने, कार्यान्वयन हुनुपर्ने नभएको कुराहरुमा देख्दाखेरी चाहिँ यो भएको छ भने देखिन ।’

परराष्ट्रमन्त्री डा. नारायण खड्काको कमजोरीप्रति पनि उनले टिप्पणी गरेका छन् । उनले भने, ‘अहिले माननीय परराष्ट्रमन्त्री यहीँ हुनुहुन्छ । पटक पटक हाम्रो अन्तर्राष्ट्रिय समन्वय समितिमा छलफल गर्न कुरा गर्न हामीले प्रयासहरु गर्दा पनि उपस्थित नहुँदाखेरी त्यहाँ धेरै टीकाटिप्पणी भएको थियो र म एउटा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्ने सांसद भएको हुनाले त्यहाँ कुरा आएको हुनाले म फेरि यहाँलाई रिक्वेष्ट गर्न चाहन्छु कि आएर त्यहाँ छलफल गरिदिनुस् ।’

आफू कांग्रेस नै भएर पनि कांग्रेसबाटै प्रतिनिधित्व गर्दै परराष्ट्र मन्त्रालय सम्हालेका खड्काप्रति उनले भने, ‘सत्तापक्षको सांसद भएको हुनाले सुन्नुपर्छ फेरि सत्तापक्षकै सांसदले मेरो विरोध गरे भन्ने चाहिँ मिसअन्डरस्टयान्डिङ नगर्न पनि अनुरोध गर्दछु ।’

उनले अर्को कमजोरीबारे भने, ‘यो राजनीतिक नियुक्तिहरुको सम्बन्धीको कुराहरुमा यदि हामीले जुन निर्देशिका पालना गर्न सकेका छौं न त गत सरकारले न त अहिलेको सरकारले । यो कुराले गर्दा पनि पुनरावलोकन हुनको निम्ति जरुरी छ भन्ने लाग्छ ।’

परराष्ट्रकै बारेमा उनले गुनासो गर्दै भने, ‘ब्रिटिश गोर्खाको कुरामा जुन समन्वय अन्तर्राष्ट्रिय समन्वय समितिले दिएको निर्देशनको किन पालना हुन सकेन ? जबसम्म मन्त्रालय र समितिको राम्रो कोअपरेशन र कोअर्डिनेशन हुँदैन र समितिको निर्देशन पालना हुन सक्दैन त्यसले गर्दा मिसअन्डरस्टयान्डिङ भैकन अगाडि कोअपरेट र रिजल्ट ओरिएन्टेड हुन सक्दैन भन्ने कुरा म अगाडि भन्न चाहन्छु ।’

उनले गृहमन्त्री बालकृष्ण खाँडको भने प्रशंसा गरे । उनले भने, ‘म गृहमन्त्रीलाई विशेष धन्यवाद दिन चाहन्छु कि जुन तरिकाबाट यसपालिको चुनावमा शान्ति सुरक्षाबाट गर्न सक्नुभयो त्यसको निम्ति विशेष धन्यवाद दिन चाहन्छु । चुटफुट भएका छन् । ती सधै हुन्छन् । र आउँदो चुनावको निम्ति पनि राम्रोसँग व्यवस्था होस् भन्ने चाहिँ म अनुरोध गर्दछु ।’

तर कर्मचारीहरु हेरफेर भएकोप्रति भने उनले गुनासो गरे । सांसद राजभण्डारीले भने, ‘गृह मन्त्रालयमा हामीले के देखिरहेका छौं भने सबै चेन्ज अफ सिडियोज् र फ्रिक्वेन्ट चेन्ज अफ पुलिसका अफिसर्सहरुले गर्दाखेरी त्यहाँको अवस्था, त्यहाँको सुशासनको निम्ति कति सहयोग गर्न सक्छ, कति राम्रो हुन सक्छ, त्यसमा चाहिँ एकचोटी रिथिङ्क गर्नको निम्ति म अनुरोध गर्दछु ।’  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ