arrow

‘एम्बुलेन्स क्याम्प’ बाट १५ सय बिरामीले पाए गाउँमै निःशुल्क उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३० सोमबार
nobel-ambulance.jpg

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माद्वारा सञ्चालित ‘एम्बुलेन्स क्याम्प’ बाट विगत दुई साताको अवधिमा मोरङको क्षेत्र नं.३ का एक हजार पाँच सय बिरामीले गाउँमै निःशुल्क उपचार पाएका छन् । नोबेल अस्पतालमार्फत डा.शर्माले बेलबारी, सुन्दरहरैचा र पथरीशनिश्चरे नगरपालिका तथा कानेपोखरी गाउँपालिकामा ‘एम्बुलेन्स क्याम्प’ सञ्चालन गराइरहेका हुन् ।

डाक्टरसहितको टोली एम्बुलेन्समा जाने र गाउँका बिरामीको खोजी खोजी उपचार गर्ने गरिएकाले एम्बुलेन्स क्याम्प नाम दिइएको हो । हरेक दिन दुई टोली डाक्टरहरू टोल टोलमा पुगेर त्यहाँ रहेका बिरामीहरूको उपचार गर्ने गरेका छन् । भिडियो एक्सरे, ल्याब टेष्ट र दसीजी गर्ने साधनसहित डाक्टरहरू गाउँ गाउँमा जान्छन् र बिरामीको उपचार गर्ने गर्छन् । उपचार बापत बिरामीले कुनै शुल्क तिर्नु पर्दैन । डा.शर्माले नै निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका हुन् ।

सो टोलीले गाउँ गाउँमा पुगेर दुई साताको अवधिमा १ हजार ५ सय ६३ जना बिरामीको निःशुल्क उपचार गरेको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार एम्बुलेन्स शिविरमा स्वास्थ्य परीक्षणका क्रममा २९८ जनाको मुटुको जाँच (दसीजी), ३२५ जनाको रगत परीक्षण र ३४३ जनाको भिडियो एक्सरे गरिएको छ । दाँतमा समस्या भएका ९७ जनाको दाँत खोलिएको छ । एम्बुलेन्स शिविरमा उपचार सम्भव नभएका ५३३ बिरामीलाई नोबेल अस्पताल ल्याएर पनि उपचार गरिएको छ ।

अस्पताल आउनुपर्ने बिरामीलाई नोबेल कै बसमा आउने जाने सुविधा छ । शिविरमा उपचार सम्भव नभएर नोबेल आई उपचार गराउनेलाई ५० प्रतिशत छुटमा उपचार गर्ने गरिएको छ । ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने डा.शर्माको योजना अनुप यसअघि पनि नोबेलले गाउँ-गाउँमा शिविर सञ्चालन गर्दै आएको थियो । अहिले अझै टोल-टोलमा डाक्टर पठाएर निःशुल्क उपचार सेवा प्रदान गरिएको हो ।

आफ्नो ठाउँका मान्छेलाई सकेको सहयोग गरौँ भन्ने सोचले निःशुल्क उपचारको व्यवस्था मिलाइदिएको डा.शर्मा बताउँछन् । उनी भन्छन्, ‘सबैसँग उपचार गर्ने पैसा नहुन सक्छ, पैसा नहुँदा रोग पालेर बस्नुपर्ने बाध्यता हुन्छ, मेरो ठाउँमा त्यस्तो समस्या नहोस् भनेर निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएको हुँ ।’ बेलबारी-४ स्थायी घर भएका डा.शर्मा नेपाली कांग्रेसका नेतासमेत हुन् । गत प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका डा.शर्मा चुनाव हारेर पनि निरन्तर जनताको सेवामा सक्रिय छन् । जसका कारण सो क्षेत्रमा उनको लोकप्रियता बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ