arrow

स्वदेशमै रासायनिक मल कारखानाका लागि छलफल अघि बढेको छ : कृषि मन्त्री 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३१ मंगलबार
Mahendra-Raya-Yadav.jpg

काठमाडौं ।  कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवले स्वदेशमै रासायनिक मल कारखानाका लागि छलफल अघि बढेको बताएका छन् ।  प्रतिनिधि सभामा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्रीले यस्तो बताएका हुन् । 

सांसदका जिज्ञासाको जवाफ दिँदै  उनले स्वदेशमै रासायनिक मल कारखाना लागि बजेट छुटाइएको र यो उद्योग मन्त्रालयसँग सम्बन्धित भएको साथै लगानी बोर्डमासमेत छलफल अघि बढेको बताए ।  उनले कृषि पेशालाई सम्मानित, मर्यादित र नाफामूलक बनाइ आत्मनिर्भर बनाउने, यस क्षेत्रका पूर्वाधार विकास गर्ने, किसान सुरक्षा कार्यक्रमअन्तर्गत किसानलाई पेन्सन प्रदान गर्नका लागि सूचीकरण गर्न बजेट विनियोजन गरिएको सुनाए । 

गहुँ, कुखुराको मासु र अण्डामा अहिले करिब आत्मनिर्भरको अवस्था रहेको बताउँदै मन्त्री यादवले आगामी दुई वर्षमा आधारभूत खाद्यान्नमा आत्मनिर्भर बनाउने गरी बजेटमा कार्यक्रम प्रस्ताव गरिएको बताए ।

पशुपक्षी बीमा र २०७९ साललाई कृषि जैविक विविधताको वर्षका रूपमा मनाउन बजेटमा प्रस्ताव गरिएको जानकारी गराउँदै उनले गत वर्ष धान बालीमा वर्षाले गरेको क्षतिको राहत दिने बारेमा लागत तयारी गरी गृह मन्त्रालय पठाइसकेको र त्यसका लागि रु पाँच अर्ब छुटाइसकेको जानकारी गराए । उनले आफ्नो मन्त्रालयको कार्यक्षेत्रअनुसार उखुको मूल्य निर्धारण गरी उद्योग मन्त्रालय पठाइसकेको स्पष्ट पार्दै मल खादको वितरणलाई पारदर्शी बनाउनका लागि अनलाइनको व्यवस्था गर्न निर्देशन गरिसकेको समेत बताए ।

बैठकमा सांसद गङ्गा चौधरी सत्गौवा, निरु देवी पाल, झपटबहादुर रावल, विमला विश्वकर्मा, प्रेम सुवाल, घनश्याम खतिवडा, खेमप्रसाद लोहनी, बिमला विक, पार्वता डिसी चौधरी, डा डिला सङ्ग्रौला पन्त, रामेश्वरराय यादव, प्रमोद साहले स्पष्टीकरण माग गरेका थिए ।



नयाँ