- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हुम्ला । तिलगंगा आँखा प्रतिष्ठानका नेत्र विशेषज्ञ प्रा.डा. गोविन्द पौड्यालको प्राविधिक टोलीबाट हुम्ला सिमीकोटमा जेष्ठ २५ र २६ गते याल्बाङ, नाम्खामा २७ र २८ गतेको शिविरमा जम्मा ८५२ जना सेवाग्राहीहरुको आँखा परीक्षणका साथ उपचार गरी मोतिबिन्दु १०७ जना अन्य ४ गरी जम्मा १११ (सिमीकोटमा ४८ र नाम्खामा ६३) जनाको शल्यक्रिया सहितको आँखा शिविर सम्पन्न भएको छ ।
सिमीकोट शिविरको लागि स्वास्थ्य सेवा कार्यालय जिल्ला अस्पताल सिमीकोट, नेत्र ज्योति संघ हिमालय आँखा अस्पतालबाट संचालित आँखा उपचार केन्द्र हुम्ला र नेपाल रेड्क्रस सोसाइटीको विशेष सहयोग रहेको थियो भने उक्त शिविरमा प्रमुख जिल्ला अधिकारीलगायत सम्बन्धित कार्यालय प्रमुखहरुको निरीक्षण भएको थियो ।
याल्बाङ, नाम्खामा नाम्खा गाउँपालिकाको आयोजनामा आँखा शिविर सम्पन्न भएको थियो । शिविर संचालन अगावै नाम्खा गाउँपालिकाका नेत्र सहायक र कार्यालय सहायकबाट १७ दिन पालिकाको विभिन्न गाउँहरुमा पुगी मोतिबिन्दुका बिरामी छनोट शिविर संचालन भएको थियो ।
छनोट भएका मोतिबिन्दुका बिरामीहरु ल्याउने र लाने काम नाम्खा गाउँपालिकाले गरेको थियो भने आवश्यक परेका बिरामीको खाना र बस्न स्थानीय विद्यालय सहयोगी संस्था हिमालयन चिल्ड्रेन सोसाइटीको सहयोग थियो ।
आँखा शिविरमा तिब्बत चीन सिमाना यारी, लीमी भ्याल्लीदेखि स्याडा, सर्केघाट गाउँहरुसम्मका स्थानियवासीले सेवा लिएका थिए ।
सो शिविरमा सेवा लिएकामध्ये ७२ वर्षीय यारी निवासी खेम्चोक लामा विगत ५ वर्षदेखि अन्धकारमय जीवन जिउँदै आएकोमा उक्त शल्यक्रिया शिविरबाट पुनः दृष्टि प्राप्त भै सामान्य जीवनयापन गर्न सक्ने भएका छन् ।
उक्त शिविरहरुको लागि सेवा फाउन्डेसन नेपालबाट पनि सहयोग प्राप्त थियो ।
नाम्खामा आँखा उपचार केन्द्र
नाम्खा गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको सहकार्य र सेवा फाउन्डेसनको सहयोगमा याल्बाङ, नाम्खा गाउँपालिकामा जेठ २९ गतेदेखि आँखा उपचार केन्द्र स्थापना भएको छ ।
आँखा शिविरसँगसँगै नाम्खा आँखा उपचार केन्द्र समुद्घाटन भएको छ।
शिविरबाट पुनः दृष्टि प्राप्त गरेका सेवाग्राही खेमजोक लामा, तिलगंगा आँखा प्रतिष्ठानको नेत्र विशेषज्ञ प्रा डा गोविन्द पौड्याल, नाम्खा गाउँ पालिकाका प्रमुख कार्यकारी अधिकृत धर्मराज न्यौपाने र सम्बन्धित वडाध्यक्ष लाटर लामाबाट संयुक्त रुपमा आँखा केन्द्रको उद्घाटन भएको थियो ।
यो आँखा केन्द्र तिलगंगा आँखा प्रतिष्ठान र सेवा फाउन्डेसनको सहयोगमा संचालित सबैभन्दा दुर्गम क्षेत्रमा रहेको आँखा उपचार केन्द्र हो भने नाम्खा गाउँपलिका एकीकृत स्वास्थ्यसेवा प्रणालीको आँखा सेवा संचालन गर्ने हुम्ला जिल्लाको पहिलो गाउँपालिका हो ।