काठमाडौं । बंगलादेशकाे चट्गाउँस्थित एक रसायनिक मल कारखानामा भएको विष्फोटपछि टक्सिक ग्याँस शहरभरी फैलिदा करिब २ सय मानिस बिरामी परेका छन् । ग्याँस शहरभरी फैलिए पछि जनजीवन असहज भएको एक अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
प्रहरी र अग्नि नियन्त्रक अधिकारीहरूका अनुसार सयौंको संख्यामा मानिसहरूलाई पोर्ट सिटीस्थित डि–एमोनिया फोसफेट प्लान्ट नजिक रहेको निवासबाट सुरक्षित स्थानमा सारिएको छ । सोमबार सो स्थानमा ५ सय टन क्षमता भएको एमोनिया ट्याङकरमा बिष्फोट भएको थियो ।
स्थानीय प्रशासन प्रमुख मेस्ब उदिनका अनुसार ग्याँस चुहावट भएपछि ५६ जना मानिसहरूलाई चट्गाउँ मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ । अस्पतालमा रहेकाहरुमा कोही पनि खतरा मुक्त हुन सकेका छैनन् भने, अधिकांशको अवस्था चिन्ताजनक छ ।
प्रशासक उदिनले भने, ‘८ जनालाई डिस्चार्च गरिएको छ । अझैं अस्पतालमा ४८ जना छन् तर सबैजना खतरामुक्त अवस्थामा छन् ।’ करिब एक सय ५० जनालाई भने प्राथमिक उपचार गरिएको उनले बताए ।
अग्नि नियन्त्रकहरूले ग्याँस चुहावटलाई रोक्न सोमबार रातभरि प्रयास गरेपनि आगो विहान मात्रै नियन्त्रणमा आएको थियो ।
उनले भनेका छन्,–‘हामीले निकै ठूलो आवजमा मानिसहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेका थियौं । सयौं मानिस गएपनि । तर अवस्थामा सुधार आएपछि उनीहरू फेरि फर्किए ।’ तर, ग्याँसले छोपेकाहरु विरामी परेका छन् । –एजेन्सीको सहयोगमा