- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालमा पहिलो पटक मङ्कीपक्सको संक्रमण भएका शंकास्पद बिरामी भेटिएका छन् । दुबईबाट आएका २६ वर्षीय पुरुषमा ज्वरो र शरीरमा दाग (रास) देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उनको नमूना परीक्षण गरेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको हो ।
अस्पतालकी निर्देशक डा मनीषा रावलले ती व्यक्तिमा ज्वरो र शरीरमा दाग देखिएपछि मङ्कीपक्सको आशंका गरिएको बताएकी छिन् ।
यद्यपि अन्य विभिन्न किसिमका रोग एवं संक्रमणको लक्षणसमेत यस्तै हुने भएकाले अहिले मङ्कीपक्स नै हो भनेर भन्न नसकिने उनले बताएकी छिन् ।
'हामीले नमूना परीक्षणका लागि पठाएका छौं, अरु कुरा पुष्टि भएन भने मङ्कीपक्सको संक्रमण हो कि भनेर पुष्टि गर्न थप परीक्षणका लागि पठाउँछौं', हाम्राकुरासँग बोल्दै डा रावलले भनिन् ।
ती व्यक्तिलाई अहिले टेकु अस्पतालमै आइसोलेसनमा राखिएको र उनको अवस्था जाँचबुझ भइरहेको डा रावलले बताएकी छिन् ।
विश्वका विभिन्न देशमा अहिले मङ्कीपक्सको संक्रमण बढेका कारण ती व्यक्तिमा समेत मङ्कीपक्सको संक्रमण हुनसक्ने आशंका गरिएको हो । दुबईमा एक हप्तादेखि बिरामी भएर नै ती व्यक्ति उपचारका लागि नेपाल आएका हुन् ।
मङ्कीपक्सको संक्रमण परीक्षण गर्ने सुविधा छैन
तर अहिले नै मङ्कीपक्सको संक्रमण परीक्षण गर्नका सुविधा नभएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुणा झाले बताएकी छिन् ।
मङ्कीपक्सको संक्रमण पीसीआर विधिबाट परीक्षण गरिने भए पनि आवश्यक रिएजेन्टहरु नभएको उनको भनाइ छ ।
यस्तै उनले मङ्कीपक्सको रेपिड टेस्ट किट समेत नभएको बताएकी छिन् । 'परीक्षण गर्नुपर्याे, शंकास्पद व्यक्ति भेटिए भने नमुना बाहिर पठाउन सकिन्छ, अहिले परीक्षणको सुविधा छैन', डा झाले भनिन् ।
यद्यपि उनले अहिले मङ्कीपक्सको शंकास्पद बिरामी भेटिएको जानकारी आफूलाई नभएकोसमेत बताएकी छिन् ।