arrow

इस्लामाबादले पाकिस्तानमा सुरक्षा कम्पनी सञ्चालन गर्ने चिनियाँ अनुरोध अस्वीकार गर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ४ शनिबार
china-pakistan-flag.jpg

काठमाडौं । चीनले पाकिस्तानमा सुरक्षा कम्पनी सञ्चालनका निम्ति गरेको अनुरोधलाई इस्लामाबादले अस्वीकार गरेको छ । चीनको राज्य सुरक्षा मन्त्रालयले पाकिस्तानमा सुरक्षा कम्पनी खोल्न गरेको अनुरोधप्रति आपत्ति जनाउँदै इस्लामाबादले त्यसलाई अस्वीकार गरेको हो । 

गृहमन्त्री राणा सनाउल्लाहले पाकिस्तानमा कुनै पनि देशले सुरक्षा कम्पनी स्थापना गर्न नसक्ने बताएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानमा रहेका आफ्ना नागरिकहरूमाथि बढ्दो आक्रमणलाई दृष्टिगत गर्दै चीनले यहाँ सुरक्षा कम्पनी खोल्न चाहेको बताइएको छ । 

चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) परियोजनाअन्तर्गतका ग्यास पाइपलाइन र विद्युत् टावरहरूलाई लक्ष्यित गरी बलुच विद्रोहीहरूले नियमित आक्रमण गरिरहेका छन् । विद्रोहीहरूले बलुचिस्तानको प्राकृतिक स्रोत लुटिएको आरोप लगाएका छन् । 

केही समयअघि कराँचीमा भएको आत्मघाती हमलामा तीन चिनियाँ नागरिकसहित चार जनाको मृत्यु भएको थियो । उक्त आक्रमणको जिम्मेवारी बलुच समूहले लिएको थियो । 

चिनियाँ नागरिक लक्ष्यित यस्ता आक्रमण नियन्त्रण गर्न इस्लामावाद प्रहरीले विदेशी सुरक्षा इकाइ स्थापना गरेको छ । विशेष गरी चिनियाँ नागरिकको सुरक्षाका निम्ति उक्त इकाइ स्थापना गरिएको हो । 

पाकिस्तानी अधिकारीहरूका अनुसार हाल इस्लामावादमा एक हजारभन्दा बढी चिनियाँ नागरिक दर्जनौँ विकास परियोजना, कम्पनी र व्यवसायमा संलग्न छन् । सीपीईसी परियोजनामा संलग्न चिनियाँलाई पाकिस्तानी सुरक्षा बल र अर्धसैनिक बलले सुरक्षा दिइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ