arrow

हैजाको जोखिममा काठमाडौं, चार जनामा पुष्टि, अनुसन्धान गर्न पाँच सदस्यीय समिति गठन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ८ बुधबार
cholera.jpg

काठमाडौं । काठमाडौंका विभिन्न स्थानका चार जनामा हैजा पुष्टि भएको छ । ती चारै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले उपचार भइरहेको छ ।  जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले अहिलेसम्म चारजनामा हैजा भएको पुष्टि जानकारी दिए । 

उनका अनुसार बागबजारमा दुई, भोटेबहाल र डिल्लीबजारमा एक–एक जनामा हैजा देखिएको छ । उनले भने “ फोहर र प्रदूषित पानीका कारणले हैजा देखिएको हुनसक्छ । काठमाडौँ हैजाको जोखिममा रहेको देखियो । ”

विगतमा काठमाडौंमा लामो समयसम्म फोहर नउठेको कारणले पनि हैजाको प्रकोप बढेको हुन सक्ने बताइएको छ । उनले हैजा पुष्टि भएका ठाउँमा थप खोजी र  लक्षण भएका हैजाका बिरामी खोजिरहेको बताए । 

बागबजारका दुई जना १८ र २३ वर्षीया युवतीमा गत असार ५ गते र भोटेवहाल र डिल्लीबजारमा एक–एकमा मंगलबार देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले हैजा देखिएका ती व्यक्तिमा के कारणले हैजा भएको भन्ने पत्ता लगाउनका लागि जनस्वास्थ्य अधिकृत रामकृष्ण फुयालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । 

महामारी रोकथाम तथा नियन्त्रण फोकल पर्सनसमेत रहेका फुयालले फोहोरको प्रकोप बढेर खानेपानीका प्रदुषण भएर हैजा रोग देखिएको बताए । उनले बागबजारको पानीको तीन वटा नमूना संकलन गरेर  राष्ट्रिय  जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको जानकारी दिए । 

उनका अनुसार एउटा धारा, हैजा भएका व्यक्तिले प्रयोग गरेको जार र टुबेलको पानीको नमूना परीक्षण गरिएको छ । उनले पानीको कारणले हैजा भएको आफूले  शंका गरे पनि परीक्षणको रिपोर्ट नआइकन केही भन्न नसकिने बताए ।

 “हैजा देखिएको ठाउँमा गएर हैजा देखिएका व्यक्तिले के के खाएका हुन भनेर हामीले परीक्षण गर्ने काम गरिरहेका छौ, ” स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले भने, “ हामीले घरवरपरका छिमेकीसँग पनि के कस्ता खानेपानी र खानेकुरा खाएका छन भनेर अध्ययन गरिरहेका छौ ।”

उनले बागबजारका दुई जना युवतीले जार र धाराको पानी नउमालिकन खाने गरेको पाइएको बताए । असार २ गते चटपटे खाएपछि ति युवतीलाई उल्टी गर्नुको साथै पखाला लागेको थियो । 

प्रमुख अधिकारीले ती युवतीले काम गर्ने ठाउँ डिल्लीबजार गएर खानेपानी र खानेकुराको परीक्षण भइरहेको बताए । स्वास्थ्य कार्यालय काठमाडौँले चार जनामा हैजा देखिएपछि सतर्क अपनाउन आग्रह गरेको छ । कार्यालयले शुद्ध खानेपानी खान, प्रदूषित खानेकुरा तथा झिंगा भन्केको खानेकुरा नखान आग्रह गर्दै माइकिङसमेत शुरु गरेको उनले जानकारी दिए । 

यस्तै महिला स्वास्थ्य स्वयसेविकाले पनि खानेपानीलाई शुद्धीकरण गरेर मात्र खान आग्रह गर्दै टोलटोलमा खटाइएको उन बताए । कार्यालयले काठमाडौँ उपत्यका खानेपानी लिमिडेट, खानेपानी वोक्ने ट्याङक्टर व्यवसायी र जार व्यवसायीसंग पनि खानेपानी शुद्धीकरण गरेर मात्र वितरण गर्न भनेको छ । 

यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । गर्मी र बर्खायाममा विशेषगरी झाडापखाला, हैजा तथा पानीजन्य रोगहरु फैलिने हुँदा सबैलाई सजक र सतर्क हुन अनुरोध मन्त्रालयले गरेको छ ।  

मन्त्रालयले पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न, व्यक्तिगत सरसफाइ, खानेकुराको सरसफाइ तथा खुला रुपमा दिसापिसाब नगर्न र चर्पीको प्रयोग गर्न र दिसापिसाब गरेपछि अनिवार्य रुपमा साबुन पानीले हात धुन अनुरोध गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ