arrow

पोखरामा कृषि उपज ढुवानी सेवा शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १० शुक्रबार
krishi .jpg

पोखरा । पोखरा महानगरपालिकाले कृषि उपज ढुवानी सेवा शुरु गरेको छ । आगामी आर्थिक वर्षको आफ्नो नीति कार्यक्रम मै कृषि एम्बुलेनस सेवा सञ्चालन गर्ने कार्यक्रम समावेश गरेको महानगरले त्यसअगाडि नै वर्षायाममा कृषकलाई सुविधा दिन यस्तो सेवा आरम्भ गरेको कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । 

कृषि विकास महाशाखाले अन्नपात एग्रो प्रालिसंग सहकार्य गर्दै सेवाको शुक्रबार वडा नम्बर २१ बाट आरम्भ गरेको हो । पोखरा महानगरपालिका भित्र उत्पादन भएको कृषि उपजको ढुवानीमा समस्या भएमा, आफ्नोे टोल वा क्षेत्रमा साना कृषकहरूले उत्पादन गरेको कृषि उपज संकलनको लागि निःशुल्क सेवासहित ढुवानी गाडी सेवा सञ्चालन गरिएको उनले बताए । 

किसानलाई आफुसगं वा आफ्नो टोलमा केही उत्पादन भए सम्बन्धित वडा कार्यालय, कृषि सेवा केन्द्र तथा कृषि महशाखामा उत्पादन विवरण सहित जानकारी गराउने प्रमुख कडरीयाले आग्रह गरेका छन् । उनले यो सेवा साना किसान केन्द्रित हुने र बिचौलियाको अन्त्य हुने दाबी गरे । 

कडरियाले मेयर धनराज आचार्यको चाहनामा किसानले उत्पादन गर्ने कृषि उपज खेर फाल्न नदिन शुरुमा यस्तो सेवा दिइएको र अगामी आर्थिक वर्षबाट कृषि एम्बुलेन्स सञ्चालन गरिने जानकारी दिए । ‘कृषकका उत्पादन खेर जान हुँदैन । उनीहरुको उत्पादनले उचित मूल्य पाउनुपर्छ भन्दै मेयरसावकै चाहना र किसानको हितलाई ध्यान दिँदै हामीले यो सेवा शुरु गरेका हौं’, उनले भने । 

महानगरकोतर्फबाट सात लाख ५० हजार रुपैयाँ अन्नपात एग्रोलाई अनुदान स्वरुप उपलब्ध गराएको छ भने उक्त ढुवानी सेवा महानगरका कृषि उपज उत्पादन हुने क्षेत्रमा खासगरी साना किसानलाई लक्षित गरेर सञ्चालन गरिनेछ । 

‘ठूलो उत्पादन हुने ठाउँमा आफैपनि किसानले बजार ल्याउन समस्या छैन । साना किसानले उत्पादन गरेका उपजहरुले बजार नपाउने अवस्था छ । उहाँहरुले उत्पादन गरेका कृषि उपज वडामा कुनै संकलन केन्द्रमा संकलन गर्नुहुन्छ । त्यहाँ आवश्यकता अनुरुप कृषि ढुवानी सेवा सञ्चालन हुन्छ । त्यसका लागि किसानले छुट्टै पैसा तिरिरहनु पर्दैन । यो सेवा आवश्यकताका आधारमा सबै वडामा लागु हुन्छ’, उनले भने । 

वडाध्यक्ष दीपक सुवेदीले महानगरको पहिलो कार्यपालिका बैठकमै कृषकलाई उत्पादन भन्दा पनि त्यसको बजारीकरणको समस्या रहेको भनेर आफूहरुले गरेको गुनासोको सम्बोधन भएको जानकारी दिए । 

उनले भने, ‘उत्पादन गरिएका उपज विक्री नहुने समस्याले किसान समस्यामा रहेका गुनासा हामीले कार्यपालिका बैठकमा राख्यौं । मेयरसावले यसलाई गम्भीरतापूर्वक लिनुभयो । आज (शुक्रबार) बाट यो सेवा हाम्रै वडा (वडा नम्बर २१) बाट यो सेवा शुरु हुँदा खुशी लागेको छ । अब २/४ किलो उत्पादन उत्पादन गर्ने किसानले पनि आफ्नो उत्पादन विक्री गर्न पाउँछन् । यसले किसानलाई प्रोत्साहन मिलेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ