arrow

कनकलक्ष्मी सहकारीको ३१ लाख हिनामिना 

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ असार १३ सोमबार
kanaklakxmi-bachat-tatha-rin-sahakari-morang.jpg

मोरङ । सहकारी संस्थामा बचतकर्ताको बचत रकम अनियमितता भएको पाइएको छ । करिब ३१ लाख रुपैयाँ अनियमितता भएको पाइएको संस्थाले जनाएको छ ।

मोरङ सुन्दरहरैंचा ६ गछियास्थित रहेको कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र गोठगाउँमा कार्यरत कर्मचारी विवेक खवासले संस्थालाई थाहा नदिइ सदस्यको कीर्ते हस्ताक्षर गरी बचत रकम झिक्ने गरेको पाइएको छ । 

शुक्रबार संस्थाको बचत रकम गणना गर्दा पूरा रकम नभएपछि सम्बन्धित कर्मचारीलाई सोधपुछ गर्दा हिनामिना भएको पाइएको संस्थाले जनाएको छ । संस्थामा नियमित रुपमा कारोबार गर्न नआउने व्यक्तिको खाताको प्रयोग गर्ने गरेका थिए । 

चिनजानका व्यक्तिले रेमिट्यान्सबाट पठाएको पैसा निकालेर खातामा राख्न शेयर सदस्यले भनेको पैसा कर्मचारीले आफैँ लग्ने गरेको पाइएको संस्थाले जनाएको छ । 

संस्थाको सफ्टवेयरबाट रसिद काटिए पनि सो रसिद सफ्टवेयरबाट हटाउने (रिजेक्ट गर्ने) जस्ता कार्य गर्दै आएको पाइएको संस्थाका प्रमुख कार्यकारी अधिकृत शेखर भट्टराईले बताए ।

रकम हिनामिना भएको पाइएपछि प्रहरी चौकी गछियामा लगेर एक दिन राखी सोधपुछ गर्दा तथा हिसाब हेर्दा करीव ३१ लाख बराबरको रकम हिनामिना गरेको पाइएको सञ्चालक समिति अध्यक्ष अर्जुनराज अधिकारीले बताए । 

त्यसपछि वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह आले मगर र वडा नम्बर ३ का वडाध्यक्ष विदुर ढुंगानासहित संस्थाका प्रतिनिधि बसेर कर्मचारीले हिनामिना गरेको रकम असुल उपर गर्ने गरी लिखित कागज भएको अध्यक्ष अधिकारीले बताए ।

अधिकारीका अनुसार ती कर्मचारीले ९ लाख ९५ हजार रुपैयाँको चेक संस्थालाई दिएका छन् । बाँकी २१ लाख रुपैयाँ भदौ १० गतेसम्ममा तिर्ने शर्तमा उनलाई छाडिएको छ ।

अधिकारीका अनुसार हिनामिना गर्ने व्यक्ति आर्थिक अवस्था कमजोर भएका व्यक्ति भएका हुनाले उनले सो रकम कतै लगानीमा लगाएको होला भन्ने केही शेयर सदस्यले बताएपछि दुई महिनाको समय दिइएको हो । 

संस्थाका सदस्यलाई मार पर्ने गरी गरिएको यो बदमासीमाथि थप छानबिन गरी कारबाही हुने संस्थाका अध्यक्ष अधिकारी बताउँछन् । अध्यक्ष अधिकारीले संस्थाले नगरपालिका तथा प्रदेश रजिष्टार कार्यालयलाई घटनाको विषयमा जानकारी गराइसकेको बताए ।

रकम हिनामिना गर्ने कर्मचारी गोठगाउँमा रहेको सेवा केन्द्रको काउन्टरमा बस्ने गरेका थिए । केन्द्रका प्रमुख बिदामा बस्दा सेवालाई सहज होस् भनेर उनलाई एड्मिन आईडी दिइने गरेको थियो । 

सोही क्रममा उनले सो आईडीको दुरुपयोग गरी हिसाब हिनामिना गर्ने गरेको पाइएको संस्थाले जनाएको छ । 

सो संस्थाका ६ वटा सेवा केन्द्रहरु रहेका छन् । ती सेवा केन्द्रमार्फत् झण्डै ८ हजार शेयर सदस्य र बचतकर्ताको रकम सङ्कलन हुने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ