arrow

गाईखुरे झरना हेर्दै पर्यटक फुरुङ्ग

logo
रासस
प्रकाशित २०७९ असार १५ बुधबार
gaekhure_jharna.jpg

लमजुङ । डुम्रे-वेशीसहर सडक छेउमा रहेको बेँशीसहर नगरपालिका-१ दलालस्थित गाईखुरे झरनामा पर्यटक बढ्न थालेका छन् । केही महिना सुनसान रहेको यस झरनामा पानी बढ्न थालेसँगै एक हप्तायता दैनिक पर्यटक बढ्न थालेका हुन् । 

यहाँ दैनिक १५० देखि २०० सम्म पर्यटक आउने गरेको यस वडाका वडाध्यक्ष दुर्गाबहादुर बुढाथोकीले बताए । शुक्रबार, शनिबार र बिदाको समयमा यतिबेला २०० देखि ३०० जनासम्म पर्यटक आउने गरेका उनले सुनाए । यहाँ बिहान ७ देखि साँझ ७ बजेसम्म पर्यटक आउने उनको भनाइ छ । 

यस झरनामा लमजुङसहित छिमेकी जिल्ला तनहुँ, गोर्खा, कास्की, मनाङ लगायतका ठाउँका पर्यटक आउने गरेको स्थानीयवासी बताउँछन् । यहाँ डुम्रे-बेँशीसहर सडक नजिकै रहेकाले यस रुटमा सञ्चालन हुने सवारी साधन यहाँ आइपुग्दा एक छिन भए पनि रोकिएर झरना हेर्दै जाने गरेको पाइन्छ । 

छहरा हेर्दै फुरुङ बनेका पर्यटक कोही धमाधम छहराको फोटो खिच्छन्, त कोही छहरालाई पृष्ठभूमिमा पारेर आफ्नै फोटो र सेल्फी खिच्छन् । अधिकांश पर्यटक झरनाको पानीसँगै रुच्दै पोखरीमा पौडी खेलेर रमाउने गर्छन् । करिब ६० मिटर उचाइबाट झरेको पानीको छहरामा लहराउँदै झरेको पानीमा सूर्यको प्रकाशसँगै देखिने इन्द्रेणीले झनै सुन्दरता थपिदिन्छ । 

झरनाको शीतलतासँगै सेल्फी खिच्दा मन चङ्गा जस्तै हुने पर्यटक शर्मिला घिमिरेले बताइन्। असारदेखि असोज महिनासम्म मात्र यस झरनामा पानी झर्ने गर्दछ । झरना वरिपरि व्यवस्थित हुन सकेको छैन । यतिका पर्यटक र क्यानोनिङको सम्भावना बोकेको झरना व्यवस्थित गर्नका लागि बेँशीसहर नगरपालिकाले अन्य सङ्घसंस्थासँग मिलेर झरनालाई थप व्यवस्थित गर्दै पर्यटकको आकर्षणको केन्द्र बनाउने तयारीमा रहेको नगरप्रमुख गुमानसिंह अर्यालले बताए । उनका अनुसार यस झरनालाई बाह्रै महिना पर्यटकको आकर्षणको केन्द्र बनाउनका लागि तीन वर्षअघि डिपिआरसमेत तयार गरिसकिएको छ ।

नगरपालिकाले रु छ करोड ६९ लाखमा एक निजी कम्पनीलाई सूचीकृत गरिसकेको नगरप्रमुख अर्यालले बताए । यस झरनामा मर्स्याङ्दी नदीको पानी तानेर झरनामा पानी निरन्तर झार्ने, झरना तल पोखरी निर्माण गर्ने, पार्किङस्थल बनाउने योजना बनाइएको छ । 

यस्तै, सो झरनामा क्यानोनिङ तथा र्याफ्टिङ समेत सञ्चालन गर्ने उनको भनाइ छ । चक्रिय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ रहेकाले यस बाटो हुँदै जाने विदेशी पर्यटकहरुसमेत आकर्षित हुने अपेक्षा नगरपालिकाको रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ