arrow

किसानलाई रासायनिक मल माग्दै प्रदीप पौडेल कृषि मन्त्रालयमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १५ बुधबार
mahindra-raya-yadav-pradip-poudel-2079-03-15.jpg

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल राष्ट्रिय धान दिवसको अवसरमा कृषकले मल नपाएको सम्स्या लिएर सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मल उपलब्ध गराउने मागसहित  कृषिमन्त्री भेट्न सिंहदरबार पुगेका छन् । 

कृषिप्रधान देशमा मध्यअसारमा ‘मानो रोपेर मुरी फलाउने’ समयमा पनि मल पाउन नसकेका कृषकलाई तत्काल रासायनिक मलको व्यवस्था मिलाउन आग्रहसहित पौडेलको नेतृत्वमा नेविसंघका निवर्तमान महामन्त्री बलदेव तिमल्सिना, पूर्व केन्द्रीय सदस्य सुशील भट्ट, कांग्रेस नेताहरु कृष्ण पौडेल, भागवत रेग्मी, लगायतका नेताहरू धान दिवसका दिन कृषिमन्त्री महिन्द्र राय यादव भेट्न सिंहदरबार पुगेका हुन् । 

‘धान दिवस भनेर सबैले शुभकामना व्यक्त गर्नुभयो । मौखिक शुभकामनाले किसानल राहत पाउने, मल पाउने सम्भावना हुँदैन। किसानको मुख्य समस्या भनेको मलको अभाव हो,’ मन्त्रीसँगको भेटपछि पौडेलले भने,  ‘अहिले किसानले मल नपाएको स्थिति छ। यो कुरालाई तत्काल सम्बोधन गर्न आवश्यक छ। यिनै कुरामा सरकारको ध्यानाकर्षण गर्न मन्त्रीजीसँग छलफलका लागि आएको हुँ ।’

नेता पौडेलले राज्यका नागरिकका लागि दुःख गरिरहेका किसानले सहजै मल नपाउने कुरा स्वाभाविक नभएकोसमेत बताए । ‘राज्यका नागरिकका लागि किसानले दुःख गरिरहेको छ। किसानले गर्ने उत्पादन बढाउन राज्यका तर्फबाट सहुलियत दिने काम सरकारको हो,’ पौडेलले भने, ‘सरकारले आफ्नो उपस्थिति देखाउन पनि त्यो गर्नुपर्ने हुन्छ। किसानले सहजै मल नपाउने कुरा स्वाभाविक होइन ।’

उनले किसानलाई अगामी दिनमा यस्तो समस्या हुँदैन भन्ने प्रतिवद्धता सरकारबाट दिलाउन खोजेको पनि बताए । ध्यानाकर्षणकै क्रममा नेविसंघका निवर्तमान महामन्त्री बलदेव तिमल्सिनाले किसानहरुले मलको अभावमा चरम समस्या झेल्न वाध्य हुँदासमेत यो विषय राज्यको प्राथमिकतामा नदेखिएको भान भएको भन्दै तातोपानी भन्सार कार्यालयमा लामो समयदेखि अड्किएर बसेको रासायनिक मल आवश्यक पहल गरी किसानलाई उपलब्ध गराउन माग गरेका छन् ।
पौडेल नेतृत्वको ध्यानाकर्षणपछि मन्त्री यादवले मल उपलब्ध गराउन नसक्नुका कारणबारे जानकारी दिएको नेता पौडेलले बताए ।  

‘पहिलो त अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य बढेको छ । जसले गर्दा टेन्डर आह्वान गर्दा पनि ठेक्का नहालेको स्थिति बन्यो । दोस्रो, कोभिडका कारणले हामीले जति अगाडि तयारी गर्न खोज्दा पनि सम्भव भएन,’ मन्त्री यादवको भनाइ उद्धृत गर्दै उनले भने, ‘तेस्रो कुरा हामीले भारतसँग जुन सम्झौता गर्‍यौँ त्यो सम्झौता बमोजिम समयमा मल प्राप्त भएन । आदि कारणले मल उपलब्ध गराउन नसकेको हो भनेर उहाँले भन्नुभयो ।’

छलफलका क्रममा मन्त्री यादवले असार मसान्तसम्म ७६ हजार मेट्रिक टन रासायनिक मल आउने जानकारी पनि दिएका छन्। यद्यपि आउन लागेको उक्त मल आवश्यक पर्ने मलको २० प्रतिशतमात्र भएको नेता पौडेलले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ