arrow

लिबियाको मरुभूमिमा तिर्खाएर २० जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
Libya-deseart-death.jpg

काठमाडौं । लिबियाको मरुभूमिमा हराएका २० व्यक्तिको शव फेला परेको छ । उद्धारकर्ताहरूका अनुसार २० जनाको समूहका सबैको मृत्यु तिर्खाका कारण  भएको अनुमान गरिएको छ ।

मंगलबार मरुभूमिबाट यात्रा गर्दै गरेका ट्रक चालकले शवहरू फेला पारेका थिए । कुफ्राको दक्षिण पश्चिमबाट ३२० किलोमिटर र चाडको सीमानाबाट १२० किलोमिटर टाढा शव फेला परेका हुन् ।

'हामी विश्वास गर्छौं कि यो समूहले १४ दिन पहिले मरुभूमिमा ज्यान गुमाएको थियो । जुन १३ मा मोबाइल फोनमा अन्तिम कल भएको थियो,' कुफ्रा एम्बुलेन्स प्रमुख इब्राहिम बेल्हासनले बुधबार भनेका छन् ।

थोरै जनसंख्या भएको यो क्षेत्रमा ग्रीष्मयाममा तापमान ४० डिग्री सेल्सियस भन्दा बढी हुने गर्छ । एम्बुलेन्स सेवाले फेसबुकमा पिकअप ट्रक नजिकै मरुभूमिको बालुवामा सडिरहेको शव देखाएको भिडियो सार्वजनिक गरेको छ।

एम्बुलेन्स प्रमुख बेलहासनले दुई शव लिबियाली र अरू चाडबाट लिबिया प्रवेश गरेका व्यक्ति भएको अनुमान गरिएको बताएका छन् ।

नेटो समर्थित विद्रोहले लामो समयका नेता मुअम्मर गद्दाफीलाई हटाएर मारेपछि सन् २०११ देखि लिबिया अफ्रिका र मध्य पूर्वका केही भागहरूमा युद्ध र गरिबीबाट भागेका मानिसहरू युरोपमा सुन्दर भविष्य खोज्न जाने प्रमुख ट्रान्जिट पोइन्टको रूपमा देखा परेको छ ।

यसका लागि मानिसहरुले मरुभूमि र भूमध्यसागर पार गर्नुपर्छ । तर कठोर सहारा मरुभूमि र भूमध्यसागरको बाटोमा सपना बोकेर हिँड्ने धेरैको मृत्यु हुन्छ ।

इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसनका अनुसार गत वर्ष मध्य भूमध्यसागरीय मार्गमा डुङ्गा र जहाज दुर्घटना हुँदा कम्तीमा १,५०० शरणार्थी डुबेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ