arrow

मधेस आन्दोलनका शहीद परिवारलाई मासिक २१ हजार

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७९ असार १६ बिहिबार
madhesi-sahid-pratisthan-2079.jpg

जनकपुरधाम । मधेस प्रदेश सरकारले मधेस आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेसी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका लागि छात्रवृत्तिसमेत दिन लागेको छ ।

प्रतिष्ठानका संयोजकसमेत रहेका गृह तथा संचारमन्त्री भरत साहले यही महिनादेखि नै वितरण गर्ने लक्ष्य रहेको बताए । उनका अनुसार शहीद परिवारको भरणपोषण तथा छात्रवृत्तिसम्बन्धी कार्यविधि नै बनाइएको छ ।

यो कार्यविधि अनुसार मधेस आन्दोलन तथा जनयुद्धमा शहीद भएकामध्ये आर्थिक अवस्था कमजोर भएका परिवारलाई पहिलो प्राथमिकतामा राखी मासिक अधिकतम २१ हजार प्रदान गरिनेछ ।

यस्तै शहीदका सन्तानलाई कक्षा १ देखि ६ सम्म अध्ययन गर्न १६ हजार र ७ देखि १२ सम्मको अध्ययन गर्नेलाई १८ हजार वार्षिकरुपमा एकमुष्ठ छात्रवृत्ति दिइने मन्त्री साहले बताए ।

भरणपोषण भत्ता लिनका लागि शहीद परिवारलाई शहीद घोषणा भएको प्रमाण पत्र, शहीद र आश्रित व्यक्तिको नेपाली नागरिकताको प्रमाण पत्र, शहीदको एकाघरका पति–पत्नी, छोरा, अविवाहित छोरी, आमा, बुबा भएको स्थानीय तहबाट नाता प्रमाणित, ‘क’ वर्गको बैंकमा रहेको खाता नम्बर र पान नम्बर पेस गर्नुपर्ने हुन्छ ।

छात्रवृत्ति पाउनका लागि शहीद भएको घोषणा पत्र, स्थानीय तहबाट फोटोसहतको शहीदको छोरा वा अविवाहित छोरी रहेको नाता प्रमाणित, विद्यालयको सिफारिस, नागरिकता वा जन्म दर्ताको प्रतिलिपि, ‘क’ वर्गको बैंकको खाता नम्बर र पान नम्बर बुझाउनुपर्ने प्रतिष्ठानले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ