arrow

श्रीमती बचाउने अन्तिम आशामा सहयोग माग्दै इनरदेव

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १४ आइतबार
pujadevi-14-03.jpg

रौतहट । आफ्नी जीवनसंगिनीको जीवन बचाउन सक्दो प्रयास गर्दा गर्दै सबै सम्पत्ति गुमाएका रौतहटका एक सर्वसाधारण अहिले सहयोगी मनहरूको ढोका ढकढक्याउन बाध्य भएका छन्।

रौतहटको गरुडा नगरपालिका-२ गेडहीगुठी निवासी ईनरदेव सहनी (अनिश) ले आफ्नी ३१ वर्षीया पत्नी पूजा देवीको उपचारका लागि आर्थिक सहयोगको मार्मिक अपिल गरेका हुन्।

पूजा देवी विगत केही वर्षदेखि रगतसम्बन्धी अत्यन्तै दुर्लभ र जटिल रोग ‘आईटीपी’ (इडियोप्याथिक थ्रोम्बोसाइटोपेनिक पर्पुरा) सँग संघर्ष गरिरहेकी छन्। यो रोगका कारण उनको जीवन निरन्तर जोखिममा छ।

आफ्नो सिन्दूर जोगाउने आशामा ईनरदेवले नेपाल र भारतका दर्जनौँ अस्पताल धाइसकेका छन्। वीरगञ्जको नारायणी अस्पताल, नेशनल मेडिकल कलेज, भरतपुर अस्पताल, काठमाडौँको सिभिल अस्पताल, नेपाल मेडिकल कलेज, भारतको पटनास्थित पीएमसीएच, इन्दिरा गान्धी अस्पताल, मुजफ्फरपुरको प्रशान्त मेमोरियल अस्पताल, चण्डीगढ र अन्ततः नयाँदिल्लीस्थित एम्स अस्पतालसम्म पुगेर उपचार गराए। तर लाखौँ रुपैयाँ खर्च गर्दा पनि पूजाको स्वास्थ्यमा अपेक्षित सुधार आउन सकेन।

उपचारको क्रममा ईनरदेवले आफ्नो सबै सम्पत्ति गुमाइसकेका छन्। ‘श्रीमतीलाई बचाउन मैले आफ्नो भएभरको सबै सम्पत्ति सिद्ध्याएँ। उपचारकै क्रममा घरको करिब १५ कठ्ठा जग्गा बेचिसक्यौँ। गोठका साना-ठूला पशुचौपाया पनि बेचेर उपचारमा लगायौँ। अहिले हामी बस्ने एउटा ओत लाग्ने घरबाहेक संसारमा केही बाँकी छैन,’ उनले गहभरी आँसु पार्दै भने।

उनका अनुसार उपचारका क्रममा हालसम्म ३५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। यति ठूलो रकम खर्च गर्दा पनि पत्नीको स्वास्थ्यमा सुधार नआएपछि उनीहरू फेरि नयाँ चुनौतीसँग जुधिरहेका छन्।

हालै नयाँदिल्लीस्थित एम्स अस्पतालका विशेषज्ञ चिकित्सकहरूले पूजा देवीको ज्यान जोगाउने अन्तिम विकल्पका रूपमा ‘बोन म्यारो ट्रान्सप्लान्ट’ (अस्थिमज्जा प्रत्यारोपण) गर्नुपर्ने सुझाव दिएका छन्। तर उक्त उपचारका लागि मात्रै थप करिब ६० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।

सबै सम्पत्ति सकिएको अवस्थामा यति ठूलो रकम जुटाउनु ईनरदेवका लागि असम्भवजस्तै बनेको छ। पैसाको अभावमा आफ्नै आँखा अगाडि जीवनसंगिनीलाई पीडासँग संघर्ष गरिरहेको देख्न बाध्य उनी अहिले देश-विदेशमा रहेका सहयोगी मनहरूसँग हार्दिक अपिल गरिरहेका छन्।

‘मसँग अब बेच्ने केही बाँकी छैन। श्रीमतीलाई बचाउने अन्तिम आशा तपाईंहरूको सहयोग नै हो। कृपया सकेको सहयोग गरेर एउटा परिवार उजाडिनबाट बचाइदिनुहोस्,’ उनले भावुक हुँदै आग्रह गरे।

आर्थिक अभावका कारण उपचार रोकिएमा पूजाको ज्यान थप जोखिममा पर्न सक्ने चिकित्सकहरूले बताएका छन्। त्यसैले समयमै आवश्यक रकम जुटाउन सके अस्थिमज्जा प्रत्यारोपणमार्फत उनको जीवन बचाउने सम्भावना रहेको परिवारको विश्वास छ।

एउटा सानो सहयोगले एउटा परिवारको आशा, एउटा श्रीमानको भरोसा र एक युवतीको जीवन बचाउन ठूलो आधार बन्न सक्ने अपेक्षा परिवारले गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ