arrow

समृद्ध प्रदेश बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी नभई हुँदैन : मुख्यमन्त्री पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
Krishnachandra nepali.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नै रुचीका क्षेत्रमा लगानी गर्न व्यवसायी र उद्यमीलाई आग्रह गरेका छन् । कास्कीको लुम्लेमा आयोजित उद्यमी लगानीकर्ता सम्मेलनलाई संवोधन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो आग्रह गरेका हुन् ।

समृद्ध प्रदेश बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी नभई नहुने भन्दै मुख्यमन्त्री पोखरेलले जग्गा उपलब्ध गराउन कठिन हुने गरेको बताए । उद्यमीहरुले गर्ने लगानीको अधिकांश लागत जग्गामा लाग्ने गरेको पनि उनले स्पष्ट पारे । उनले लगानीकर्तालाई भने, ‘कमसेकम एउटा मेगा प्रोजेक्ट ल्याइदिनोस् ।’

गण्डकीका उद्योग मन्त्री मणिभद्र शर्माले गण्डकी प्रदेशले तय गरेका समृद्धिका आधारमा लगानीका लागि आग्रह गरे । प्रदेशले पर्यटनलाई समृद्धिको प्रमुख आधार मानेको उनले जानकारी दिए ।

पोखराका मेयर धनराज आचार्यले पोखराको समृद्धिको आधार पनि पर्यटन नै भएको बताए । उनले भने, ‘पोखराको पर्यटनमा खर्बाैंको लगानी भएको छ । यो पनि एउटा उद्योग हो । सरकारले उद्योगको परिभाषालाई यसरी पनि हेर्नुपर्छ ।’ ‘हामी लगानीकर्तालाई रेड कार्पेट ओछ्याएर स्वागत गर्न तयार छौं,’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले जताको सरकारले सहजीकरण गरिदिन्छ, उद्यमी र लगानीकर्ता त्यतै जाने स्पष्ट पारे । उद्यमी व्यवसायीका लागि सजिलो र सुविधा उपलब्ध गराउन पनि उनले आग्रह गरे । ‘राज्य सपोर्टिभ भयो भने छोटो समयमा धेरै काम गर्न सक्छौं,’ उनले भने, ‘त्यसको प्रतिफल राज्यलाई पनि हुन्छ ।’ 

महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले पनि उद्यमीका लागि अनुकूल वातावरण तयार गरिदिन अनुरोध गरे । 

उद्यमी अरुण सुमार्गीले सुकिलामुकिला मान्छेहरुले माटो नछोएसम्म कृषिमा व्यावसायिकीकरण हुन नसक्ने बताए । 

प्रदेशका प्रमुख सचिव रविलाल पन्थले प्रदेश सरकारले आयोजना तथा योजना बैंकहरु बनाएर लगानीकर्तालाई लगानीको क्षेत्र छुट्याइदिनुपर्ने विचार राखे । 

मन्त्री कँडेलको अध्यक्षताको कार्यक्रम उद्योग महशाखा प्रमुख रामप्रसाद आचार्यले सञ्चालन गरेका थिए भने योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठले समेत बोलेका थिए । लगानीकर्ता सम्मेलनमा पर्यटनकर्मी लक्की कार्की, टीकाराम सापकोटा लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्मेलन आयोजनाका लागि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश समितिले मन्त्रालयसँग सहकार्य गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ