arrow

इतिहासकै ठूलो डेटाब्रिच: एक अर्ब चिनियाँको सम्पूर्ण विवरण ह्याकरको कब्जामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २० सोमबार
chinese-people-global-times.jpg

काठमाडौं । एक ह्याकरले सांघाई पुलिसबाट एक अर्ब चिनियाँ नागरिकहरूको व्यक्तिगत जानकारी प्राप्त गरेको दाबी गरेको छ । यदि यो कुरा सत्य सावित भएमा यो इतिहासकै सबैभन्दा ठूलो डेटाब्रिच हुने विज्ञहरुले बताएका छन् ।

'चाइनाडान' भनेर चिनिने अज्ञात इन्टरनेट प्रयोगकर्ताले गत हप्ता ह्याकर फोरम ब्रीच फोरममा १० बिटक्वाइनका लागि २३ टेराबाइट (टीबी) भन्दा बढी डेटा बेच्ने प्रस्ताव राखेका हुन् ।

'सन् २०२२ मा सांघाई राष्ट्रिय पुलिस (एसएचजीए) डाटाबेस लिक भएको थियो । यस डाटाबेसमा अर्बाैं चिनियाँ नागरिकहरूको धेरै टेराबाइट डेटा र जानकारी समावेश छ,' उक्त पोस्टमा भनिएको छ ।

'डेटाबेसमा १ अर्ब चिनियाँ नागरिक र धेरै अर्ब केस रेकर्डहरू समावेश छन्, जसमा नाम, ठेगाना, जन्मस्थान, राष्ट्रिय आईडी नम्बर, मोबाइल नम्बर, सबै अपराधिक केसलगायतका विवरणहरु समावेश छन्,' पोस्टमा अघि भनिएको छ ।

यो विषय आधिकारिक रुपमा पुष्टि हुन सकेको छैन । सांघाई सरकार र पुलिस विभागले यस विषयमा कुनै टिप्पणी गरेको छैन ।

यो विषय पुष्टि हुन नसके पनि चिनियाँ सोसल मिडिया प्लेटफर्महरूमा यस डेटा लिकको विषयमा धेरै छलफल चलेको छ । कयौं प्रयोगकर्ताहरुले यो साँचो पनि हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

बेइजिङस्थित कन्सल्टेन्सी ट्रिभियम चाइनाका प्राविधिक नीति अनुसन्धान प्रमुख केन्द्रा शेफरले ट्वीटरमा एक पोस्ट गर्दै अफवाहबाट सत्य पत्याउन गाह्रो भएकाे बताएकी छिन् ।

यस्तै उनले ह्याकरले दाबी गरेको सामग्री सार्वजनिक सुरक्षा मन्त्रालयबाट आएको हो भने यो धेरै कारणले खराब हुने र स्पष्ट रूपमा इतिहासको सबैभन्दा ठूलो र नराम्रो उल्लंघनहरू मध्ये एक हुने बताएकी छिन् ।

यस्तै चिनियाँ मुलका क्यानेडाली प्रविधि उद्यमी एवं क्रिप्टोकरेन्सीको कारोबार गर्ने बिनान्स प्लेटफर्मका सीईओ झाओ चाङपेङ (सीजेड) ले एक एसियाली देशको डेटा लिक भएको ट्विट गरेका छन् ।

उनले ट्विट गर्दै भनेका छन्, 'हाम्रो खतरा खुफियाले डार्क वेबमा एक अर्ब नागरिकको डेटा बेच्नका लागि राखेको फेला पारेको छ । जसमा एक एसियाली देशका नागरिकको नाम, ठेगाना, राष्ट्रिय आईडी, मोबाइल एवं मेडिकल र पुलिस रिपोर्ट समावेश समेत छ । सरकारी एजेन्सीद्वारा इलास्टिक खोज डिप्लोइमेन्टमा बगका कारण यस्तो भएको हुन सक्छ। यसको प्रभाव...'

चीनको नाम नतोकेरै सीजेडले समेत यस्तो ट्विट गर्दा यो साँचो हुन सक्नेमा आशंका बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ