arrow

अर्थमन्त्रीको बर्खास्तीको माग गर्दै विवेकशील पार्टी दुई दिनदेखि प्रदर्शनमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २२ बुधबार
bibekshil-party.jpg

काठमाडौँ । नेपाल विवेकशील पार्टीले बजेट निर्माणमा अनधिकृत व्यक्ति छिराई निश्चित स्वार्थ समूहलाई फाइदा पुऱ्याउने अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै दुई दिन देखि प्रदर्शन जारी राखेको छ । अर्थमन्त्री बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गर्दै पार्टीले दोस्रो दिन पनि माइतीघरमा विरोध प्रदर्शन गरेको हो । 

बजेट सम्बन्धी गोपनीयता भङ्ग गर्ने र त्यसको प्रमाणको रूपमा रहेको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज मेटाउने षड्यन्त्रका प्रमुख योजनाकार मन्त्री शर्मालाई कानुन बमोजिम कारबाही गर्न पनि माग गरिएको छ । 

विरोध कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई पनि मन्त्री शर्मालाई फिर्ता बोलाउन माग गरिएको थियो । 

कार्यक्रममा सीसीटीभीका फोटाहरू प्रदर्शनी गरी अर्थ मन्त्रालयमा मेटाइएको सीसीटीभीका दृश्यहरूको बारेमा ध्यानाकर्षण गरिएको थियो । कार्यक्रममा "प्रधानमन्त्री, अर्थमन्त्रीलाई बर्खास्त गर !"; "खाडीको पसिनाले धानेको अर्थतन्त्र, जनार्दन शर्माको लुटतन्त्र"; "अर्थमन्त्रीको मन्त्र, अर्थतन्त्रमा लुटतन्त्र"; "देउवा र प्रचण्ड, किन पार्छौ लुटतन्त्र"; "मन्त्री हो कि माफिया ?"; "Juliet Sierra बिचौलिया हो, Roger" जस्ता प्लेकार्डहरू प्रदर्शन गरिएका थिए । 

कार्यक्रममा पार्टीका अभियान तथा सञ्जाल विभाग प्रमुख लक्ष्मण श्रेष्ठले भने, "देशमा सुशासन स्थापित गर्न तिनै तहका सरकारलाई खबरदारी गर्ने कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिनेछौँ ।"

विरोध कार्यक्रमको पहिलो दिन असार २० गते सोमवार अपराह्न वानेश्वर, एभरेस्ट होटल अगाडि गरिएको शान्तिपूर्ण प्रदर्शनीमा प्रहरीले हस्तक्षेप गरी पार्टीका अभियान तथा सञ्जाल विभाग प्रमुख लक्ष्मण श्रेष्ठ, प्रवक्ता विजय बाबु शिवाकोटी तथा सङ्घीय समिति सदस्य शशिविक्रम कार्कीलाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई प्रहरी वृत्त, तीनकुनेमा दुई घण्टा राखेकोमा पार्टीले निन्दा गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ