arrow

पूर्वराजाको ७६ औं जन्मोत्सव, सामाजिक संजालमा शुभकामना, कमल थापाले पनि गरे कामना 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २३ बिहिबार
gyanendra-shah-former-king.jpg
तस्बिर– फाइल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आज ७६ औं जन्मोत्सव मनाइरहेका छन् । उनी यतिबेला थाइल्याण्डमा रहेका छन् । गत असार ३ गते थाइल्याण्ड पुगेका पूर्वराजा र पूर्वरानी कोमल शाहको त्यहाँ कम्तीमा एक महिना बस्ने योजना रहेको निर्मल निवास स्रोतले बताएको छ । 

पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकले असार महिनाभर थाइल्याण्डमै रहने र साउन लागेपछि फर्कने मिति तय हुने बताएका छन् । पूर्व राजदम्पती त्यहाँ रहँदा केही विशेष कूटनीतिक भेटघाटसमेत हुनसक्ने स्रोतले बताएको छ । 

हुनत पूर्वराजाको थाइल्याण्ड भ्रमण निजी हो । नातिनीको दीक्षान्तमा सहभागी हुन पूर्वराजदम्पती त्यहाँ गएको हो । शुरुआतमा केही दिनलाई भनिए पनि उत्तर र दक्षिणको चाहनामा पूर्वराजदम्पतीको समय लम्ब्याएको बताइन्छ । यद्यपि यसको पुष्टि भने हुन सकेको छैन । 

पूर्वराजाले यसपटक आफ्नो जन्मोत्सवमा कुनै पनि सन्देश दिएका छैनन् । यसअघि सन्देश दिने गर्दथे । डा. पाठक भन्छन्, ‘नेपालमै नभएकोले पनि होला, यसपालि त्यस्तो केही सन्देश छैन ।’

फेसबुकका वाल रङ्गिए, नेताहरुलाई गाली
पूर्वराजावादीहरुले पूर्वराजा शाहको जन्मोत्सवमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक संजाल फेसबुक, ट्वीटर, टिकटक लगायतमार्फत शुभकामना दिइएको छ । 

पूर्वराजालाई जन्मदिनको शुभकामना दिने क्रममा धेरैजसोले गणतन्त्रसँगै नेताहरुलाई गाली गरेका छन् । 

संचारकर्मी एवं दोहोरी गायक रामप्रसाद खनाल लेख्छन् –
जन्मदिनको लाख लाख शुभकामना राजन !
देश लुट्न, जनता भुट्न र आफ्नो स्वार्थमा जुट्न सक्ने हजारौँ ‘महाराजा’ हरूका वीचमा रहेका एक मात्र जीवित र जनताले ‘राजा’ भन्न नछाडेका राष्ट्रवादी मान्छे, जनता वादी मान्छे, देशभक्त मान्छे, गीतकार मान्छे, जो यति धेरै पीडा र आरोपका भकारीहरूका बीच पनि डटेर मुकाबला गरिरहेको छ, त्यो एउटा  मुसुक्क हाँस्न सक्ने, जनता सँगै नाच्न सक्ने, माटो र जनताका लागि बोल्न र मुख खोल्न सक्ने मान्छेलाई मुसुक्क हाँसेरै भन्न मन लाग्यो ( राजन जन्मदिनको लाख लाख शुभकामना । देशको माया तिम्रा पिता पुर्खा बाहेक अरू कसलाई पो रहेछ र ! हामी जनताले टुल टुल हेरिरहेका छौँ, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता धोको मजाले फेरिरहेका छौँ । पुगेको छैन अझै, हामीलाई अझ भोग्न देऊ । अहिले पनि हामीलाई एउटा राजा होइन हजारौँ पिर्के ‘महाराजाहरु’ प्यारो लाग्छ त्यसैले तिमी निर्मल निवास वा नागार्जुनतिरै आनन्दले बस । जन्मदिन मनाउ । यो बाहेक अरू के भनौँ र खोइ ! तिम्रो दीर्घायु होस् राजन ।

राजसंस्था र हिन्दूराज्यलाई राजनीतिक एजेन्डा बनाएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले ट्वीटरमा लेखेका छन्, ‘शुभ जन्मोत्सवका सुअवसरमा राजा ज्ञानेन्द्रमा सुस्वास्थ्य र दीर्घायूको हार्दिक एवमं मंगलमय शुभकामना व्यक्त गर्दछु।’

त्यस्तै राप्रपाका महामन्त्री डा. धवल शमशेर राणा लेख्छन्, ‘राजा ज्ञानेन्द्र वीर बिक्रम शाह देव सरकारको ७६औं शुभ जन्मोत्सबको पावन अवसरमा सुख,शान्ति,सुस्वास्थ्य एवम् दिर्घायुको लागि  हार्दिक मंगलमय शुभकामना ।’

त्यस्तै राजाले नै आफूलाई राप्रपा अध्यक्षमा हराएको भनेर राजसंस्था अब आफ्नो मुद्दा नहुने भन्दै राप्रपा नै छाडेर राप्रपा नेपाल गठन गरेका कमल थापाले पनि शुभकामना दिएका छन् । उनको शुभकामनामा लेखिएको छ, ‘७६औँ शुभजन्मोत्सवको सुखद अवसरमा राजा ज्ञानेन्द्रमा सुस्वास्थ्य,सुख र शान्तिको हार्दिक मंगलमय शुभकामना ।’

कतिपयले राजा आउ देश बचाउ भनेर पनि लेखेका छन् । कतिपयले यो संस्थाले देश बर्बाद भएको भन्दै जतिसक्यो छिटो राजसंस्था आउनु पर्यो भनेर पनि लेखेका छन् । 

ट्वीटरमा डा. सुधांशु केसी लेख्छन्, ‘आज ज्ञानेन्द्र वीर बिक्रम शाहलाई जन्म दिनको शुभकामना टक्र्याउनेहरुको प्रतिस्पर्धा नै छ कि क्या हो ? मेरो तर्फबाट पनि सुस्वास्थ्यको कामना ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ