arrow

स्थानीय तहको निर्वाचनमा झडप, गठबन्धनका उम्मेदवार नै घाइते, प्रहरीद्वारा हवाइ फायर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २३ बिहिबार
local-level-election-2079.jpg

बाजुरा । बूढीगङ्गा नगरपालिकामा पुनःनिर्वाचनका क्रममा त्रिशक्ति माविको मतदान केन्द्रमा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप भएको छ । मतदानका क्रममा वडानं ९ स्थित  उक्त मतदान केन्द्रमा फर्जी मत खसाउन खोज्दा झडप भएको बताइएको छ । 

झडपमा गठबन्धन र एमाले कार्यकर्ता घाइते भएका छन् । गठबन्धनका तर्फवाट उम्मेदवार बनेका भरत थापा र एजेण्ट लक्ष्मण थापा घाइते भएका छन् । मतदान केन्दमा विवाद भएपछि करिब १५ मिनेट मतदान स्थगित गरिएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।  

“केहीबेर विवाद भयो । त्यसलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको हो,’’ उनले भने, “करिब १५ मिनेट मतदान स्थगित भयो । अब पुनः मतदान सुरु भएको छ ।”

गत ३० बैशाखमा स्थगित मतदान बिहीबार बिहान ७ बजेदेखि पुनः प्रारम्भ गरिएको हो । यहाँ नगरप्रमुखको पदमा नेपाली कांग्रेसका रङ्ग खाती र एमालेका रामबहादुर बाँनिया उम्मेदवार छन् ।

यसअघि गत बैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो । 

यसअघिको मतदानका क्रममा दशमध्ये छ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताले बुथ कब्जा गरेपछि मतदान रोकिएको थियो । निर्धारित समयमा मतदान हुन नसक्दा उक्त नगरपालिका जनप्रतिनिधि चयन र बजेट ल्याउन पछि परिसकेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ