arrow

जनप्रतिनिधि एवं कांग्रेस सभापति मेनुजासहित दुई जना झुण्डिएको अवस्थामा फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २३ बिहिबार
death_1618213452.jpg

खोटाङ। रावाबेँसी गाउँपालिका वडा नं. ३ लामीडाँडाकी दलित महिला सदस्य ३० वर्षीया मेनुजा विश्वकर्मा मृत फेला परेका छन् ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाको दलित महिला सदस्यमा निर्वाचित विश्वकर्मा बिहीबार बिहान मृत फेला परेकी हुन् ।

माइतीतर्फका हजुरबुवाको मृत्यु भएपछि मङ्गलबार माइतीघर पुगेकी उनी झुण्डिएको अवस्थामा मृत फेला परेको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताए । मेनुजा ७२० मत ल्याएर दलित महिला सदस्यमा दोस्रोपटक विजयी भएकी थिइन् ।

स्नातक तह उत्तीर्ण गरेकी उनी गाउँ कार्यपालिका सदस्यमा पनि विजयी भएकी थिइन् । नेपाली कांग्रेस लामीडाँडाका वडा सभापतिसमेत रहेकी मेनुजाका दुई छोरी छन् । 

उनका श्रीमान् भूपेन्द्र वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा रहेको पारिवारिक स्रोतले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खामीका ४३ वर्षीय रुद्रशेर राई बिहीबार बिहान घर पछाडि रहेको आँपको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका जनाइएको छ । रुद्रशेरको शव पनि परीक्षण गर्न अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।



नयाँ